काठमाडौं- युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ जना नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ। रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो।
युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक-एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनी सेनाको कब्जामा छन्। युक्रेनले उनीहरूलाई एकै स्थानमा राखेर बयान लिएको थियो। नेपालीहरूसँगको कुराकानीपछि सबैलाई त्यहाँबाट रिहा भएपछि रुस जान र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कन वाचा पनि गराएको छ। युक्रेनले बन्दीहरूलाई कहिले छाड्छ भन्ने बारेमा भने जानकारी दिएको छैन।
संयोजक यात्सेन्कोले राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकलाई रुसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रूपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको बताएका छन्। युक्रेनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा सहभागी हुन नदिन पनि सार्वजनिक रूपमै आग्रह गरेको छ।
नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली द्तूावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिक रिहा गर्न कूटनीतिक प्रयास गर्दै आएको छ। युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको पटक–पटक गरेर भिडियो पनि सार्वजनिक गरेको थियो। हालसम्म रुसी सेनामा भर्ती भएका १७ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी परिवारसँग सम्पर्कविहीनको संख्या कम्तीमा ९६ रहेको छ। अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक आग्रह गर्दासमेत रुसले जवाफ दिन मानेको छैन।
रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ। सरकारले रुसी पक्षसँग नियमित संवाद जारी राखे पनि नेपालीलाई रुसी सेनासँग गरिएको करार रद्द गर्न सकेको छैन।