विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या अभियोग लागेका युवक मृत भेटिएका छन्। उनी चन्द्रिकाकै पूर्वप्रेमी रहेको पनि खुलेको छ।
प्रेममा धोका पाएपछि शिवशंकर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन्। दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन्।
चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्। नर्स चन्द्रिकाको शव विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार भेटिएको थियो।
प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशंकर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए। उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिरहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो। चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशंकर फागुन २७ गते नेपाल आएको खुलेको छ।
प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए। त्यसपछि उनी फागुन २९ गते विराटनगर पुगे। विराटनगरमा उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ।
चन्द्रिका अर्कैसँग प्रेममा रहेको थाहा पाएपछि उनले हत्याको योजना बनाए। चन्द्रिकाको हत्या गरेँ, अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको खुलेको छ।