शनिबार, चैत २८, २०८२

प्रविधिले ‌ओझेल पार्दैछ भित्ते चित्र

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्। 

National life

आफूले व्यावसायिक रूपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशक बढी समय भएको उनले सुनाए। 'विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउँथेँ। रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जय दत्तको चित्र बनाएर दाइलाई देखाउँथेँ,' उनले भने, 'चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ।'

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताए। 

'सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ। देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो,' विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, 'त्यस बेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहै थिएन। दिमागमा त्यस्तै फुर्यो, बनाएँ।'

उनी चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न छन्। बेलौरी नगरपालिका-२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए। 'फुर्सदको समयमा खेतीपाती गरिन्छ। चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिँदैन,' उनले भने, 'विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ।'

kumari

उनका अनुसार विगतमा मासिक रु ५० हजारभन्दा बढी कमाउन सकिन्थ्यो। प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताए। विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक रु एक हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ। 

'विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थेँ। अहिले डिजिटल मेसिन आइसके। विगतको भन्दा काम कम पाइन्छ,' उनले भने, 'त्यहीँ पनि दिनहुँ रु एक हजारभन्दा बढी आम्दानी हुने गर्छ।'

भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ। तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन्। विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनले बताए। 

तुलसीरामको बेलौरी नगरपालिका-२ बैजुडाँडामा श्रीमती र  छोरा बस्छन्। 'दाइ छोरीहरू पनि राम्रो चित्र बनाउँछन्। अन्य पेसामा हुँदा उहाँहरूले व्यावसायिकता दिन पाउनुभएको छैन,' उनले भने, 'चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ। कामको खोजीमा बिदेसिनु परेको छैन। यसमै खुसी छु।'     -रासस

प्रकाशित: Mar 18, 2024| 08:31 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्