बुधबार, असार १०, २०८३

बेतबाँस बेचेर बाधुरामले गरे कमाल

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

कैलाली- धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकलासम्बन्धी व्यावसायिक उद्यमी हुन्। उनले विगत पाँच वर्षदेखि बेतबाँसको सामग्री उत्पादन गर्दै आएका छन्।

National life

चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्छन्। उनको व्यवसायमा परिवारले राम्रो साथ दिएको छ। व्यवसाय सुरु गर्दा आर्थिक स्थिति कमजोर थियो। फर्म दर्ता गर्नसमेत उनीसँग पैसा थिएन।

दुई हजार पाँचसय रूपैयाँ रकम सापटी मागेर टीकापुरको सतीबाट बेतबाँस खरिद गरी सामग्री बनाउन थाले। 'पढ्ने इच्छा हुँदाहुँदै आर्थिक स्थिति कमजोर भएकैले बीचमै पढाइ छोड्नु परेको थियो', उनले विगत सम्झिँदै भने।

बेतबाँसको उद्योग सुरु गर्नुको कारण भने रोचक छ। उनी सानैदेखि पुस्तक अध्ययन गर्न रुचाउँथे। एकदिन उद्यमशीलतासम्बन्धी पुस्तक पाए। सो पुस्तकमा तीन ‘ज’ बारे उल्लेख गरिएको थियो। त्यहाँ लेखिएको तीन ‘ज’ को अर्थ बिर्सिएका छैनन्।

पहिलो ‘ज’ को अर्थ आफूसँग ‘जे’ छ (उपलब्ध सामग्री) त्यहीँबाट व्यावसाय सुरु गर्नुहोस्। दोस्रो आफूसँग ‘जति’ छ (रुपैयाँ) त्यतिबाट सुरु गर्नुहोस् र  तेस्रो आफू ‘जहाँ’ (स्थान/ठाउँ) हुनुहुन्छ त्यहीँबाट व्यावसाय सुरु गर्नुहोस भन्ने लेखिएको थियो। त्यही लेखबाट प्रेरित भइ उनले व्यावसाय सुरु गरे।

Shivam cement

त्यसपछि २०७५ साल मंसिरमा धनगढीस्थित फर्म दर्ता गरी व्यवसायलाई अघि बढाए। 'सुरुवाती दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाएन', उनले भने, 'समयसँगै यी सामग्रीले बजार पाउन थाल्यो। बिक्री बढ्यो। अहिले भने यसको माग बढ्दो छ।' यही व्यावसायबाट उनले पाँचजनाको परिवार धानिरहेका छन्। एक छोरा र दुई छोरी विद्यालय पढाइरहेका छन्।
 
उनले बेतबाट ह्यांगर, फूलदानी, पिर्का, झुला, चुरादानीलगायतका सामग्री बनाउँछन्। 'धनगढीमा कैलाली, कञ्चनपुरलगायत सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका मानिस आवतजावत गर्दछन्', उनी भन्छन्, 'यसरी विभिन्न जिल्लाबाट धनगढी आउने ग्राहकले घरायसी प्रयोजनका लागि मेरो उद्योगबाट बेतका सामग्री खरिद गर्नुहुन्छ।'

उनले मासिक रुपमा ६० हजार रूपैयाँ बराबरको व्यापार हुने बताए। बिक्री भएको सामग्रीबाट ३५ देखि ४० प्रतिशत फाइदा हुने उनको भनाइ छ। कमाउनका लागि विदेश जानैपर्छ भन्नेका लागि उनी अहिले प्रेरणाको स्रोत भएका छन्। रासस

प्रकाशित: Mar 18, 2024| 07:01 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्