काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुष्माको हत्यामा संलग्न तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो।
तारेभिरकै सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। उनी बूढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्दै थिइन्। परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजीका क्रममा उनको शव फागुन २५ गते गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा फेला पारेको थियो।
उनको शव गाडिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो। प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेका अभियुक्तको बयानअनुसार सुष्माको हत्यामा प्रेम सम्बन्ध कारण देखिएको छ। सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान अभियुक्तले दिएको छ।