आइतबार, वैशाख १३, २०८३

फैलिँदै डढेलो र आगलागी, सचेत हुन आह्वान

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ। पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ। जनजीवन प्रभावित पार्न थालिसकेको छ।

National life

गए राति मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भयो। शनिबार पनि मोरङकै रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भयो। २५ परिवार विस्थापित नै भएका छन्।

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
 
उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जङ्गल आगो फैलिएर सोही ठाउँ बस्ने छ जनाको घर तथा घरमा रहेको विभिन्न सामान जलेर नष्ट भएको छ। 

प्राप्त विवरणनुसार शनिबारमात्रै ती जिल्लासहित काठमाडौँको, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन्। यसपालि हिउँदमा पानी कम परेकाले पनि सुक्खा बढी हुँदा प्रिमनसुनको सुरुआतमै डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ। यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो।

यस क्षेत्रका विज्ञहरूले पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसके डढेलो र आगलागीले थप क्षति निम्त्याउने चेतावनी नै दिएका छन्।

kumari

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ। प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको बताउँछन्। उनका अनुसार पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्ष बढ्न सक्ने देखिएको छ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले प्राधिकरणकबाट सचेतनाका काम भइरहेको उनको भनाइ थियो। उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वयमा आवश्यक काम अघि बढाउने तयारी गरिएको बताए।

मानिसहरूमा कृषिकर्ममा कमी आएका कारण जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको ‘फ्युल’मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा बढेको बताइन्छ। जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ।

प्रकाशित: Mar 17, 2024| 11:08 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्