शनिबार, चैत २८, २०८२

पूर्वाधारको पर्खाइमा बागलुङका चार 'कोट'

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

बागलुङ- अहिले नेपालमै चर्चा कमाएको धार्मिक पर्यटकीयस्थल पञ्चकोट हो। त्यही पञ्चकोटमध्येका अन्य कोट भने पर्यटकीय हिसाबले ओझेलमा परेका छन्। पञ्चकोटमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहँदा पञ्चकोटमध्येका अन्य चार कोट पर्यटकीय पूर्वाधारको पर्खाइमा रहेका छन्। 

National life

पाँच कोटको सङ्गमस्थलका रुपमा तारजालकोटलाई पञ्चकोटका रुपमा विकास गरे पनि पञ्चकोटसँग जोडिएका अन्य महत्त्वपूर्ण ऐतिहासिकस्थल भने ओझेलमा परेका छन्। पञ्चकोटमा ५० करोडको भौतिक संरचना तयार भइसकेको छ भने अन्य कोटमा नगन्य मात्रमा बजेट आएको छ। 

तारजालकोटमाथि रहेका कारिकोट, माझकोट, रायरायकोट र संसारकोटलाई पञ्चकोटसँग जोड्नका लागि पर्यटकीय पूर्वाधारको खाँचो रहेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरैले जानकारी दिए। उनका अनुसार पञ्चकोटको महत्व र महिमासँग जोडिएको कारिकोटदेखि संसारकोटसम्म पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा पञ्चकाटको महत्व झनै बढेर जानेछ। 

'पञ्चकोटमा रु ५० करोडका भौतिक संरचना तयार भए, धार्मिक पर्यटकहरु लालाहित भएका छन् तर पञ्चकोटसँग जोडिएका महत्वपूर्ण ऐतिहासिकस्थल ओझेलमा छन्, तिनीहरुको संरक्षणसमेत गर्न आवश्यक छ', गैरेले भने, 'पञ्चकोट आएका ५० प्रतिशत पर्यटकलाई कारिकोट, माझकोट, रायकोट हुँदै संसारकोट पुर्‍याउन सकेमा धेरै फाइदासमेत लिन सकिन्छ, पहिलो काम पञ्चकोटलाई कारिकोट हुँदै संसारकोट पुग्ने व्यवस्थित पदमार्ग निर्माण गर्न आवश्यक छ।'

पदमार्गसँगै चारवटै कोटमा खानेपानी, शौचालय, विश्रामस्थललगायत पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ। ऐतिहासिक महत्वका पूर्वाधारलाई संरक्षणसँगै पुनः निर्माण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ। ऐतिहासिक पुरातत्वका वस्तुलाई संरक्षण गर्दै थप पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा धार्मिक पर्यटकहरुलाई पदमार्गमार्फत संसारकोट पुर्‍याउन सकिने स्थानीय तथा कारिकोट धार्मिकस्थल व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले जानकारी दिए। 

kumari

'अहिले पञ्चकोटको निकै चर्चा छ, पञ्चकोटसँग जोडिएका धार्मिक तथा ऐतिहासिक धरोहर गुमनाम जस्तै छन्, अब पञ्चकोटसँग जोडेर पदमार्ग निर्माण पहिलो आवश्यकता छ', कार्कीले भने, 'संसारकोटमा पुरातत्व विभागले संसारकोट संरक्षणका लागि पुनःनिर्माण थाले पनि पूरा भएको छैन्, संसारकोट पुग्न बनाइएको पदमार्गसमेत एक किलोमिटर मात्रै निर्माण भएर अलपत्र परेको छ।' 

चालु आर्थिक वर्षमा रायरायकोटमा प्रदेश सरकारबाट १० लाख रुपैयाँमा सत्तल निर्माणको काम भइरहेको छ। संसारकोटमा हालसम्म जम्मा २० लाख रुपैयाँको संरचाना तयार भएको छ भने संसारकोट पुग्ने एक किलोटिमर पदमार्ग १० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको भए पनि ठूलो पूर्वाधार निर्माण गर्ने बजेटको खाँचो रहेको छ।

माझकोटमा बजेट अभावका कारण सत्तल निर्माण कार्यसमेत अलपत्र परेको छ। पञ्चकोटभित्रका अन्य चारकोट कारिकोट, माझकोट, रायरायकोट र संसारकोटको ऐतिहासिक महत्वको उजागर गर्न प्रचार-प्रसारसँगै पूर्वाधार निर्माण गर्न सकेमा पञ्चकोटको महत्व थप बढेर जानसक्ने स्थानीय गोविन्द आचार्यको भनाइ छ। 

पञ्चकोट विकास समितिले समेत पञ्चकोटमा संकलन भइरहेको रकममध्ये केही प्रतिहत बजेट पञ्चकोटसँग जोडिएका अन्य कोटमा लगानी गर्न सक्नुपर्ने स्थानीयको भनाइ छ। पञ्चकोटमा मात्रै चार अर्बका पर्यटकीय पूर्वाधार निमार्ण गर्ने योजना पञ्चकोट विकास समितिको छ। रासस

प्रकाशित: Mar 16, 2024| 10:01 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्