शनिबार, चैत २८, २०८२

चितवनमा यसरी सारिँदैछ गैंडा

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

चितवन- चितवन राष्ट्रिय निकुञ्जले आन्तरिक गैंडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैंडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो।

National life

निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैंडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैंडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो।

उक्त गैंडा मानव बस्तीमा समेत पस्ने गरेको उनले बताए। उमेर बढी भएकाले यो गैंडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिए। उनका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैंडा स्थानान्तरणमा परिचालन भएका छन्।

निकुञ्जले अहिले छ वटा गैंडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैंडा स्थानान्तरण गर्न लागिएको हो। स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैंडालाई गरिने छ।

kumari

गैंडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताए। गैंडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैंडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैंडा छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन्। चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडा छन्।

एकै ठाउँमा धेरै गैंडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्छ। घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैंडा पूर्व स्थानान्तरण थालिएको हो।

 

 

प्रकाशित: Mar 15, 2024| 14:58 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्