शनिबार, चैत २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ठूलो संख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र

ठूलो संख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

चितवन- मत्स्य विकास केन्द्र भण्डारले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ। केन्द्रले यसवर्ष विभिन्न आठ जातका ७ करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ काम गरिरहेको छ।

National life

कार्यालयका प्रमुख माधवप्रसाद दाहालका अनुसार ह्याचरी गरिएका, फिसिङ र फ्राइ साइजका भुरा बिक्री गर्ने लक्ष्य लिएको छ। दुईदेखि तीन दिनसम्मका (ह्याच गरिएका) छ करोड ५० लाख, फ्राइसाइज (एक महिना हुर्काइएका)का ६५ लाख र फिंगर (दुईदेखि तीन महिनासम्म हुर्काइएका) छ लाख माछाका भुरा बिक्री गर्नेगरी काम गरिएको उनले बताए।

उनले भने, 'हामीले लक्ष्यभन्दा धेरै माछाका भुरा उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छौँ। यस वर्ष पनि बढी नै उत्पादन गर्ने योजना छ।'

मौसममा आएको परिवर्तनका कारण यस वर्ष भुरा उत्पादनमा केही ढिलाइ भएको भए पनि किसानलाई आवश्यकतानुसारका भुरा उत्पादनमा केन्द्र लागेको उनले बताए। उनले थपे, 'गत वर्षहरूमा फागुन अन्तिम साताबाट भुरा बिक्रीवितरण सुरु हुन्थ्यो भने अहिले चैतको पहिलो सातादेखि सुरु गर्ने योजनामा छौँ। केही दिनभित्रै बिक्री सुरु गरिँदैछ।'

केन्द्रले २२ बिघा क्षेत्रफलमा माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ। ३६ वटा पोखरीमध्ये ३५ वटा पोखरीमा भुरा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ।

kumari

यहाँ उत्पादित माछाका भुरा चितवन, बारा, पर्सा, तनहुँ, नवलपुर, लमजुङ, कास्कीसहित २२ जिल्लाका किसानलाई बिक्रीवितरण गरिँदै आइएको छ। जिल्लामा एक हजार एक सय हेक्टर क्षेत्रफलमा माछा पालिँदै आएको छ।

एक हेक्टरमा १५ हजार माछाका भुरा आवश्यक पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य अधिकृत भीमदत्त भट्टको भनाइ छ। उनका अनुसार जिल्लाबाट वार्षिक चार हजार पाँच सयदेखि पाँच हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। रासस

प्रकाशित: Mar 15, 2024| 10:01 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्