बिहीबार, चैत २६, २०८२

किसानलाई पशुपालनमा आकर्षित गर्न दूधमा अनुदान

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

गल्याङ- किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० रूपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो।

National life

नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अकला नमूना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पासबुकमा भएको विवरणका आधारमा नगरपालिकाले प्रतिलिटर दूधमा अनुदान उपलब्ध गराउनेछ।

सहकारीले सम्झौताअनुसार दैविक प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा तीन सय ५० दिन किसानको दूध खरिद गर्नुपर्ने छ। सहकारी संस्थाले महिनाको दुईपटक संकलित दूधको विवरण नगरपालिकालाई उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ।

'दूधको मूल्य नेपाल सरकारले तोकेको ल्याक्टोफ्याट र एसएनएफको आधारमा निर्धारण हुने छ, त्यसबाहेक नगरपालिकाले किसानलाई प्रतिलिटर १० रूपैयाँ उपलब्ध गराउने छ', नगरप्रमुख खाणले भने, 'नगरलाई दूधमा आत्मनिर्भर बनाउन र उत्पादनका आधारमा अनुदान दिएर किसानको उत्साह बढाउन हामीले यस्तो कार्यक्रम ल्याएका हौँ।'

उनले दूधमा अनुदान कार्यक्रमले युवा पुस्तामा विदेशप्रतिको मोह घटाएर कृषि फार्म सञ्चालन गर्न उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले गाईपालक किसानलाई अधिकतम ५० हजार रूपैयाँसम्म अनुदान दिने जानकारी दिए।

kumari

'विदेश पलायन रोक्न र विदेशबाट फर्केका युवालाई पशुपालनमा आकर्षित गर्न नगरपालिकाले बजार व्यवस्थापनको पनि ग्यारेन्टी लिन्छ', खाणले भने, 'पशु बीमा र सडक व्यवस्थापनको जिम्मा पनि नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्दछु, तसर्थ पशुपालनमै लाग्न सबै युवालाई अनुरोध छ।'

अकला नमूना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले किसानलाई सजिलो हुने तरिकाबाट सहकारीले दूध संकलनको काम गर्ने बताए। उनले वालिङ-१२ स्थित धनमुढा, १४ स्थित फौदिखोला र ४ स्थित एलादिमा दूध संकलन केन्द्र राखेर काम गर्ने बताए।

सहकारी संस्थाले किसानले उत्पादन गरेको दूध संकलन गरेर चिज बनाउने गरेको छ। यहाँ उत्पादित चिज, काठमाडौं, पोखरा, बुटवललगायतका ठाउँमा निर्यात हुने गरेको छ। वालिङभित्र सात सय घरधुरीले दैनिकरूपमा करिब पाँच सय लिटर दूध उत्पादन गरेर बजारमा बिक्री गर्ने गरेको छ। रासस

प्रकाशित: Mar 15, 2024| 07:01 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्