बिहीबार, चैत २६, २०८२

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रणमा आएन 

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

ढोरपाटन- बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन्। 

National life

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निभाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो शारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए। आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ।

‘भीषण रुपमा आगलागी भएको छ। गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरिरहेका छौँ। ठूलो हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन। आगो बाटाकाचौरको शारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ’, बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भने, ‘आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ। थप आउने क्रममा रहेको जानकारी पाएका छौँ।’

प्रकाशित: Mar 14, 2024| 20:38 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्