बिहीबार, चैत २६, २०८२

दोहोरी साँझमा मादल बजाएर कमाउँछन् यी किशोर

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

तनहुँ- माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो। व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशंकर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आएका छन्।

National life

आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशंकरको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्छ। व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आएका शिवशंकरले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताए।

“विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्छु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशंकरले भने, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको १२–१४ हजार कमाउने गर्दै आएको छु।”

दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशंकरको भनाइ छ। भविष्यमा आफू मादललगायत गीतसंगीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशंकरले बताए।

उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहेका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशंकरले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुभद्रा श्रेष्ठले बताइन्। “बिदाको समयमा बुवासँगै साथ लागेर आउनुहुने शिवशंकरले मादल बजाएको देख्दा सबै चकित पर्नुहुन्छ, थप सीप सिक्ने अवसरका रूपमा शिवशंकरलाई सकारात्मक वातावरण बनाएको छ”, उनले भने, “शिवशंकरले बजाएको देख्दा परिपक्व मादल बादकले बजाएको जस्तो महसुस हुने गर्छ।”

kumari

आफूले मादल बजाएको देखेर छोराले समेत सिक्ने इच्छा व्यक्त गरेपछि बिदाको समय पारेर आफूसँगै दोहोरी साँझ र मेला महोत्सवमा समेत प्रयोगात्मक सीप सिकाउन लैजाने गरेको शिवशंकरका बुवा विश्वले बताए। दमौलीमा फागुन २५ गतेदेखि तीन दिनसम्म जारी महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा बिदाको समय पारेर शिवशंकरले मादल बजाएर सबैको मन जितेको उनले बताए।

शिवशंकरले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम संगीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ। बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशंकरलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताए।

“यो तालमा यसरी बजाउने भनेपछि छोराले सजिलै टिप्छ, उनको मादल बजाउने र सिक्ने क्षमता देखेर म पनि छक्क परेको छु”, मादलबादक विश्वले भने, “बिदाको दिन पारेर मादल बजाउन छोरालाई मसँगै दोहोरी साँझमा लैजाने गरेको छु, त्यसले गर्दा छोराको सीप विकाससँगै केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत बढेको मैले पाएको छु।”

पढाइमा समेत अभिरुचि राख्ने शिवशंकरले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिए। बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशंकर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताए।

“विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा शिवशङ्करले निकै राम्रो मादल बजाउने गर्छन्”, प्रधानाध्यापक खनालले भने, “सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरा अहिले सबैतिर उठेको पाइन्छ, तर यसको ज्वलन्त उदाहरणका रूपमा शिवशंकरको मादल बजाउने सीपलाई लिन सकिन्छ।”

प्रकाशित: Mar 14, 2024| 16:08 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्