बिहीबार, चैत २६, २०८२

वनमा लागेको डढेलो गाउँ पस्दा २० लाख बढीको क्षति

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

खोटाङ- सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो। 

National life

गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे बस्तीमा दिनभर समस्या भएको थियो। साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए। 

गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन्। सामुदायिक वनमा लागेको डढेलोले वनस्पति र जङ्गली जनावर नष्ट भइसकेको स्थानीय बासिन्दाले बताएका छन्।  दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा रहेको सामुदायिक वनमा डढेलो लागिरहेको स्थानीय बासिन्दाले बताएका छन्। जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ। 

दश स्थानीय तह रहेको जिल्लामा हिउँद लागेसँगै आगलागीको समस्या हुने जनाइएको छ।  यस्तो समस्या हुन थालेपछि कतिपय स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। 

प्रकाशित: Mar 14, 2024| 10:31 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्