बिहीबार, चैत २६, २०८२

बगरखेतीमा आकर्षित हुँदै राप्तीसोनारीका किसान

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन्। राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी-५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन्। उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन्। 

National life

विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताए। 'पहिला थोरै थोरै खेती गर्ने गरेका थियौँ, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ', उनले भने, 'अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छौँ।'

राप्ती सोनारी-५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन्। सामूहिकरूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताए। समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उनको भनाइ छ।

समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आएका छन्। उनले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताए। राप्ती सोनारी-१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आएका छन्। नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथीभाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उनले बताए।

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ। बगरखेती गर्ने किसानलाई पाँच लाख रूपैयाँसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताइन्। यस वर्ष राप्ती सोनारी-५ बिनौनास्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर रानामगरलाई पाँच लाख रूपैयाँ बराबरको अनुदानको सम्झौता गरिएको उनले जानकारी दिइन्।

kumari

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताइन्। उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरिन्। रासस

प्रकाशित: Mar 14, 2024| 09:01 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्