बिहीबार, चैत २६, २०८२

जहाँ मलामी पनि बाँदर कुरुवा राखेर जानुपर्छ

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

ढोरपाटन (बागलुङ)- जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ। घर छेउछाउका जंगल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ। गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ। घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्छन्।

National life

छरछिमेकी कोही विदेश गए, कोही बसाइँसराइ गरेर तराई झरे, उनी भने आर्थिक अवस्था सामान्य हुँदा गाउँ छोडेर कतै जान सकेका छैनन्। दिनप्रतिदिन बाँदरले दुःख दिन थालेपछि तिलप्रसादसहित सर्कुवावासी आजित बनेका छन्। पछिल्लो समय गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ। गाउँमा भएका घर रित्तिँदै गएका छन्। रित्तो घरमा बाँदरले रजाइँ गरिरहका छन्। सेवासुविधाको खोजीमा बसाइँसराइ गर्ने बढेपछि गाउँ सुनसान हुँदै गएको छ। सुनसान गाउँमा बाँदरसँगै अन्य वन्यजन्तुले पनि बेला–बेला स्थानीयवासीलाई दुःख दिने गरेको छ।

तिलप्रसादसँगै गाउँका अन्य धेरै मान्छेहरु दिनभर घर छोडेर बाहिर जाँदैनन्। जानै परे पनि एकजना घर कुरुवालाई राखेर जानुपर्ने स्थिति छ। बारीमा लगाएको अन्नबाली, फलफूल र तरकारीसमेत बाँदरले नष्ट गरिदिने हुँदा किसान मर्कामा पर्ने गरेका छन्। बाँदर धपाउनका लागि गाउँलेले अनेक उपाए नपनाएका भने होइनन्। सुरुसुरुमा भाग्ने गरे पनि पछिपछि डराउनै छोडेका छन्। पाँच वर्ष अगाडिसम्म बाँदर कम भए पनि अहिले बढ्दै गएका छन्। अन्नबाली खाइदिनाका साथै मान्छेलाई आक्रमण गर्ने गरेको तिलप्रसाद बताउँछन्।

उनले घर कुरेर नबस्ने हो भने साँझ फर्किंदै केही नरहने बताए। बाँदर धपाउनका लागि धेरै प्रकारका जुक्ति लगाए पनि अहिले बाठिँदै गएपछि भाग्न छोडेको शर्माको भनाइ छ। काम परेर घरबाहिर जानु परे एकजना कुरुवा राख्नैपर्ने उनले बताए। बढ्दो बाँदर आतंकका कारण गाउँमा गरिखान पनि हम्मेहम्मे पर्न थालेको तिलप्रसादले गुनासो पोखे। “हुनेखाने सबै गाउँ छोडेर बजार झरे, कोही तराई सरे, हामीजस्तो सामान्य अवस्था भएको मान्छे गाउँ छोड्न सकिएन, बाँदरले गर्दा कसैको जन्त र मलामी जाँदा पनि घरकुरुवा राखेर जानुपर्छ,” तिलप्रसादले भने, “हामीहरु निकै पीडित भयौं, यसको समाधान खोज्नका लागि अनेक प्रयत्न गर्यौं तर अहिलेसम्म कुनै समाधान हुन सकेको छैन, पहिले त यस्तो समस्या हुँदैनथ्यो, दिनदिनै घर कुरेर बस्न त कहाँ सकिन्छ र ? कहिले के काम हुन्छ, बाहिर जानुपर्छ, सधैं कुरुवा राख्न पनि सकिँदैन।”

स्थानीयवासी होमनाथ पौडेलले गाउँमा मान्छे कम हुँदै गएपछि बाँदर बढेको बताए। पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सताउने गरेको उनको भनाइ छ। पहिलेको तुलनामा गाउँमा विकास भए पनि मान्छेहरु बजार झर्ने गरेको भन्दै बाँदरको दीर्घकालीन व्यवस्थापन गर्न नसके धेरैले गाउँ छोड्न बाध्य हुने पौडेलले बताए। वनज‌ंगल बढ्दै गएको र खेतीयोग्य जमिन पनि बाँझोमा परिणत हुँदै गएपछि गाउँ उराठिलो बन्दै गएको उनले बताए।

kumari

पौडेलले भने, “बाँदरले गरिखान दिएन, बारीमा केही लगायो, पसाउन थालेपछि नष्ट गरिदिन्छ, घरको झ्यालबाटभित्र पसेर अन्नपात खाने र लत्ताकपडा च्यातिदिने गर्छ, हुन त पहिले गाउँमा धेरै मान्छे थिए, अहिलेको जस्तो सुनसान थिएन, त्यही भएर बाँदर नआएको होला, अहिले त घरहरु खाली हुँदै गए, वनजंगल जान पनि छोडे, सुनसान हुँदै गएपछि बाँदर वनबाट गाउँ आएको हुनुपर्छ, नत्र त पहिले पनि आउनुपर्ने हो।”

सर्कुवासँगै जैमिनीका अन्य गाउँमा पनि बसाइँसराइले खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिएका छन्। वरपरका रूख बिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बुढापाकाबाहेक अरू कोही छैनन्। युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्। एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन्। सेवासुविधा घरकौ दैलोमै पुगेका छन् तर सेवासुविधाको उपभोग गर्ने मान्छे निकै कम छन्।

विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन्। दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन्। बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिकाले ‘मंकी पार्क’ बनाउने योजना अगाडि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बाँदर पार्क बनाउने बृहत् योजना भएको हुँदा विभिन्न तहका सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने बताए।

बाँदर पार्क बनाउने योजना नेपालमै नयाँ भएको हुँदा चुनौतीपूर्ण भएको उनको भनाइ छ। नगरपालिका दृढ संकल्पका साथ यो योजना सफल बनाउन लागिरहेको प्रमुख पुनले बताए। त्यो योजना पूरा नहुँदासम्म स्थानीयवासीले बाँदर धपाउनका लागि परम्परागत जुक्ति अपनाउनुपर्नेमा जोड दिए।

“बाँदरले निकै दुःख दिएको हामीहरुले महसुस गरेका छौं। हामी आफैं पनि भोगेका छौं। बाँदर आतंक बढ्नाका कारण गाउँ सुनसान हुनु नै हो। हामीहरु गाउँमा हरेक प्रकारका सुविधा पुर्याउन खोजिरहेका छौं तर धेरै बसाइँसराइ गरेर बाहिर जानुहुन्छ,” नगरप्रमुख पुनले भने, “बाँदर नियन्त्रण कसरी गर्न सकिन्छ भनेर धेरै पटक सोच्यौं धेरैतिरबाट बाँदर पार्क बनाउने सुझाव आएअनुसार यसलाई अगाडि बढाएका हौं। यो काम नेपालमै नौलो हो, धेरै खर्चिलो हुने र समय पनि धेरै लाग्छ, यसको काम अगाडि बढाउनका लागि वनले अनुमति दिनुपर्छ, अहिलेसम्म अनुमति दिएको छैन, यस वर्ष पनि बजेट विनियोजन गरेका छौं। धेरै समय लागे पनि निरन्तर काम गर्दै गएर यो योजना पूरा गर्ने लक्ष्य लिएका छौं।” -रासस

प्रकाशित: Mar 13, 2024| 13:55 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्