शुक्रबार, भदौ १२, २०८३

यी हुन् दाइजोमा सुनको सिक्री नपाएपछि बिहे रद्द गर्ने बेहुला

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति मार्फत उनीरुलाई सार्वजनिक गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर-२४ रामगढवामा गए राती वैवाहिक कार्यक्रम चलिरहेकै समयमा सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद सिर्जना गरेका थिए। विवाह छोडी जाने मौखिक धम्कीपछि वडा प्रहरी श्रीपुरले बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-४ का २८ वर्षका उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह, दाजुहरू राकेश साह र मुकेश साह, भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं-५ बस्ने रामएकबाल साह रहेका छन्।

दाइजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज-२४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको बिहे नै भाँडिएको थियो। बिहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय राखी जिल्ला अदालत पर्साबाट विवाह सम्बन्धी कसुरमा २ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन्।

प्रकाशित: Mar 12, 2024| 20:56 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्