बिहीबार, चैत २६, २०८२

मच्छिममा मेलाको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

म्याग्दी- मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।

National life

मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो। क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए।

'मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ', उनले भने, 'पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब ९ लाख खर्च भएको छ।'

मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ।

गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ। पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ। यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिए।

kumari

हेम नमूना आवासीय मावि, काफलडाँडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। गाउँका विपन्नलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताए। 

युवाहरूलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी गराउँदै आएको छ। मच्छिम गाउँमा एक सय २० घरधुरीको बसोबास छ। अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ। गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्छ। रासस

प्रकाशित: Mar 13, 2024| 12:01 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्