बिहीबार, चैत २६, २०८२

चितवन निकुञ्जमा गैंडा स्थानान्तरण गरिँदै

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन।

National life

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उनले बताए। निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उनको भनाइ छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो। आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ। बुधबार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने छ। 

गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ। गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज आइसकेको छ। 

पुनका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिहरु निकुञ्जमा आइसकेका छन्। गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री ‘कोर’ क्षेत्रमा र  नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिने छ। निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ। स्थानान्तरण गर्दा भालेपोथीको रेसियो मिलाइने उनले जानकारी दिए।  

kumari

दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो। पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्।

विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए। केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको थिएन। त्यही समयमा पूर्वका गैँडा बगेर पश्चिम पुगेका थिए।  

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ। घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वतर्फ लैजान लागिएको हो। निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याका आधारमा गर्न नसक्दा समस्या देखिएको छ। 

वरिष्ठ इकोलोजिस्ट शाहले एकै ठाउँमा धेरै गैँडा भएकाले स्थानान्तरण गरी घनत्व मिलाउन लागिएको बताए। एकै स्थानमा धेरै गैँडा हुँदा बासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उनले बताए।

प्रकाशित: Mar 12, 2024| 22:01 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्