बिहीबार, चैत २६, २०८२

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन

 |  सोमबार, फागुन २८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २८, २०८०

तनहुँ- भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन्। व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन्।
    
भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन्। खोजीका लागि परिवारले निवेदन दिएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिए। 
    
उनले भने, “व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरुको परिवारजनले निवेदन दिनुभएको छ। उहाँहरुको खोजीका लागि प्रयास गर्ने हो।” परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएको उनले बताए। 

National life

उनले भने, “रुसमा दूतावास भएको भए सहजरुपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौँ। तर, प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन। दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौँ। खोजतलासीमै छौँ प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ।” गैरकानुनी रुपमा गएकाले पूर्णरुपमा काम गर्न सहज  नभएको उनले बताए। 

आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको बताए। सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीको भनाइ थियो। 
    
रुसमा बेपत्ता भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको उनले सुनाए। युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोतकेन्द्रले जनाएको छ। दुई/तीन महनिायतादेखि परिवारसँग नै उनीहरु सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ। 

भिजिट भिसामा अवैधानिक बाटोमार्फत् गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन्। अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ। 

प्रकाशित: Mar 11, 2024| 18:01 सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्