बिहीबार, चैत २६, २०८२

नरसिंहकोटलाई पर्यटन गन्तव्य बनाउन पूर्वाधार निर्माण गरिँदै

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

बागलुङ- बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका-७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ।

National life

गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन्। पूर्वाधार निर्माण सुरु र प्रचारप्रसार बढेपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकसमेत बढ्दै गएका छन्। नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी काम सुरु भएको वडा नं ७ का अध्यक्ष दीपक कुँवर (दिपु) ले बताए।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको नजिक रहेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन्। बुर्तिबाङबाट बसमा एक घण्टा यात्रा गरेपछि नरसिंहकोट पुग्न सकिन्छ। यद्यपि सवारीका लागि सालझण्डी-ढोरपाटन सडकको विकल्प नभएकाले लामो बाटो तय गर्नुपर्ने अवस्था छ। बुर्तिबाङबाट अधिकांश पर्यटक पैदल नै त्यहाँ पुग्ने गरेका छन्।

नरसिंहकोटबाट १५ देखि २० मिनेटको पैदल दुरीमा रहेको टापुमा पनि पर्यटकको आकर्षण बढेको छ। यस क्षेत्रको प्रवर्द्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाइ छ। उनले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटनपार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माणलगायत काम भएको भन्दै अहिले पनि ती कामलाई पूर्णता दिन थालेको कुँवरको भनाइ छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको १० लाख रूपैयाँ र निसीखोला गाउँपालिकाले विनियोजन गरेको सात लाख रूपैयाँले भौतिक संरचना थप्दै गएको उनले बताए। उनले भने, 'गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ, यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्याएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ, खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ भने अन्य धेरै पूर्वाधार निर्माण भइसकेका छन्।'

kumari

नरसिंहकोटमा दैनिक एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। अझ बिदाका दिन पर्यटकको सङ्ख्या बढ्ने गरेको छ। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउनसक्ने भन्दै सोहीअनुसार बर्सेनि लगानी भइरहेको बताए।

नरसिंहकोट ऐतिहासिक ठाउँ र यसको धार्मिक महत्व रहेको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ। पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण सकिएको उनले बताए। 'नरसिंहकोटसहित पालिकाका अन्य ठाउँमा पनि हामीले लगानी गर्दै आएका छौँ, यहाँ पूर्वाधार निर्माण गरी प्रचारप्रसारलाई तीव्र बनाएपछि अहिले पर्यटकको आगमन पनि राम्रो छ', अध्यक्ष घर्तीमगरले भने, 'सानो लगानी गाउँपालिकाबाट र ठूलो लगानी प्रदेश सरकारको सहयोगमा भइरहेको छ।'

नरसिंहकोटमा अहिले पनि मन्दिर छ। जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ। मन्दिरमा बैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ। यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। बागलुङ, प्यूठान, गुल्मीलगायत विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन्।

यहाँबाट बुर्तिबाङ बजार स्पष्टरुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायत जिल्ला देख्न सकिन्छ। साथै धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खला र उच्च मनोरम पहाडी भेगको अवलोकन गर्न सकिन्छ। रासस

प्रकाशित: Mar 12, 2024| 07:01 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्