काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्।
निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात् कार्यतालिका प्रकाशित भएको हो।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा तोकिएको छ। त्यसैगरी दिउँसो १:३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ।
मंगलबार ११: ०९ बजेपश्चात संसद बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थक गर्ने, एकभन्दा बढी प्रसि्तावको सूचना प्राप्त हुन आएमा संक्षिप्त छलफल हुने र प्रस्तावलाई दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।
निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ। नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले पाउने सहमति भएको छ।
माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका भाइ हुन्। उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।
दाहालको कार्यकाल चार वर्षको रहेको छ। २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सल्लाहकारसमेत रहेको नारायण दाहालको अनुभव छ।
यसैगरी राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो। तर तत्कालीन गठबन्धन टुटेपछि कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा शर्मालाई अघि सारेको हो। ७४ वर्षीय शर्मा बाँकेका हुन्। उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर ०७८ सालमा राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए।