शुक्रबार, भदौ १२, २०८३

अम्रिसोको मूल्य आधा घटेपछि मोरङका किसानलाई चिन्ता

 |  सोमबार, फागुन २८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २८, २०८०

मोरङ- अम्रिसोको मूल्य निरन्तर ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन्। गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो। 

गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी १ सय ३० रूपैयाँसम्म रहेकोमा हाल ५० देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेल बताउँछन्।

किसानसँग खरिद गरेको काँचो अम्रिसो सुकाउँदा औसतमा १५ देखि २० प्रतिशतसम्म घट्ने गरेको बताउँदै उनले प्रतिकेजी ७० देखि ७५ रूपैयाँसम्ममा झापाको धुलाबारीस्थित डिलरमा आफूले बेच्ने गरेको बताए।

पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश किसान नगदेबालीको रुपमा व्यावसायिक हिसाबले अम्रिसो खेतीमा आकर्षित भएका छन्। 'गतवर्षसम्म अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका थियौँ, यस पटकको अम्रिसोको मूल्यले निराश बनायो', लेटाङ-१ का किसान यामबहादुर मगर बताउँछन्। पाँच रोपनी बारीमा लगाएको अम्रिसो वार्षिक दश मन जति उत्पादन हुने गरेको मगर बताउँछन्।

किसान मगरका अनुसार गत साल प्रतिकेजी १ सय ४० रूपैयाँसम्ममा लेटाङ बजारमा अम्रिसो कारोबार भएको थियो। विगतका वर्षमा राम्रो आम्दानी हुने गरेकाले हौसिएर अरु बाली मासेर अम्रिसो लगाएकामा अहिले मूल्य नपाउदा दुःख लागेको अम्रिसो उत्पादन गरेका किसान हस्त मगर बताउँछन्।

ओरालो र भिरालो ठाउँमा हुने अम्रिसो वर्षमा एक पटक मात्र उत्पादन हुने गर्दछ। तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानको यसतर्फ आकर्षण बढेको छ। कुनै समयमा बिक्री नभएर बस्तु चौपायाको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानको यसतर्फ आकर्षण बढेको लेटाङ १ का वडाध्यक्ष विष्णु मगर बताउँछन्। रासस

प्रकाशित: Mar 11, 2024| 08:31 सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्