बिहीबार, चैत २६, २०८२

गड्डाचौकीमा करोडौंको एक्सरे मेसिन अलपत्र, यात्रुलाई सास्ती

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

दोधारा चाँदनी- कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ। विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो।

National life

भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा यात्रुले अनावश्यक सास्ती खेप्नु परेको छ। एक करोड रूपैयाँभन्दा बढी खर्च गरेर एक्सरे मेसिन जडान गरिएको भन्सार कार्यालयले जनाएको छ।

मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार, नाका भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेको नियमित जाँचमा सहज हुने अनुमान गरिएको थियो। 

मेसिन जडानपछि करिब एक वर्षसम्म सेवा प्रदान गरिएको भन्दै दक्ष जनशक्तिको अभाव, लामो समयदेखि बन्द हुनु, मेसिन जीर्ण बन्दै गएकाले पुनः सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले जानकारी दिए। 'एक्सरे मेसिनमा खराबी आएपछि प्रयोगमा ल्याउन सकिएको छैन', उनले भने, 'मेसिन पुनः सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेका छौँ।'

भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउँदा भारतमा सास्ती खेपेर आएका नेपाली कामदारले स्वदेशमा जाँचका नाममा दुःख पाउने गरेका स्थानीयले गुनासो गरेका छन्। 'भन्सार कार्यालयले मेसिन बन्द गरेर हातले छामछुम गरेर जाँच गर्छ यो प्रभावकारी विधि होइन', स्थानीय गणेश मिश्रले भने, 'मेसिन सञ्चालनमा ल्याए यात्रु र भन्सार कर्मचारी दुवैलाई सहज हुन्छ।'

kumari

अहिले प्रविधिको युगमा हातले जाँच गर्नु उपयुक्त नहुने भन्दै उनले तत्काल एक्सरे मेसिन प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।

गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकसमेत नेपाल भित्रिने भएकाले नाकामा सहज जाँच हुनुपर्ने यहाँका व्यवसायी जगदीश भट्टको भनाइ छ। 'भन्सार कार्यालयले एक्सरे मेसिन मर्मत गरेर जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ', उनले भने, 'यो नाकाबाट पर्यटक आवतजावत गर्ने भएकाले पनि आवागमन सहज बनाउनुपर्छ।' रासस

प्रकाशित: Mar 10, 2024| 18:31 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्