बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एक अर्ब २० करोड लागतमा राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

एक अर्ब २० करोड लागतमा राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

खजुरा- हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ।

National life

नेपालगञ्ज-बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण थालिएको हो।

वर्षामा आवागमन ठप्प हुने तथा अन्य समयमा पनि समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइको नयाँ पुल निर्माण सुरु गरिएको हो।

करिब डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गरेका थिए। सोही योजनाअनुसार अहिले पुल निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ।  

विसं २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताए। उनका अनुसार अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ।

kumari

भ्याटसहित एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो। निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको इन्जिनियर पटेलले जानकारी दिए।  

सिधनिया घाटमा रहेको पुल साँघुरो र छोटो भएकाले लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताए। अहिले सञ्चालनमा रहेको पुलबाट एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने भएकाले यहाँका जनताले लामो र आधुनिक पुलको माग गर्दै आएका उनको भनाइ छ। 

यसअघि बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेकामा पुल बनेसँगै समस्या अन्त्य हुने स्थानीय बताउँछन्। उक्त पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने बताइएको छ। रासस

प्रकाशित: Mar 09, 2024| 22:01 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्