शुक्रबार, भदौ १२, २०८३

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

इलाम- व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका-९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन्। पाँच सय बोटले आम्दानीसमेत दिन थालेको उनले सुनाए।
 
'मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ', उनले भने, 'प्रतिघरी सात सय ५० रुपैयाँसम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ।'

रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उनले बताए।

माई-९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाएका छन्। राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट केरा लगाएका छन्। थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती सुरु गरेको उनले बताए। 

'अन्य खेतीजस्तो धेरै मेहनत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक तवरले केराखेती सुरु गरेको हुँ', उनले भने, 'बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन, व्यापारी घरघरमा नै आउँछन्, प्रतिघरी पाँच सयदेखि सात सय ५० रुपैयाँसम्म बगानबाटै बिक्री हुने गर्दछ।'

केरी खेतीबाट वार्षिक एक लाख ५० आम्दानी गर्ने गरेको सुनाउँदै उनले यस वर्ष खेती विस्तार गर्ने योजना रहेको सुनाए। व्यावसायिक केरा खेती सुरु गरेपछि घर व्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको अर्की किसान कर्णकुमारी साउनदेनले बताए।

'मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ', उनले भने, 'मैले एक वर्षमा ७५ हजारभन्दा धेरैको आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउनसमेत सहज भएको छ।'

टुपेन्द्र, कृष्ण र कर्णकुमारी मात्र होइन, त्यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन्। कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रका किसान व्यावसायिक केराखेतीमा आकर्षित भएका छन्।

बाँझो रहेका जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा केराखेती सुरु गरेका हुन्। उनीहरूले व्यावसायिक रुपमा केराखेती गरी लाखौँ आम्दानी लिइरहेका छन्।

जिल्लाको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, चुलाचुली गाउँपालिकाका तोरबारी साकफारालगायतका किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन्।

उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक केराखेती गर्दै आएका हुन्। यहाँका किसानले चिनीचम्पा, काबेली, झाजी, भण्डारी, झपरीलगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन्।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजैरुपमा बिक्री गर्न पाउँछन्। घरघरमा गएर व्यापारीले केरा किन्ने गरेका छन्।

बगानकै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्‍याउने झन्झटसमेत छैन। यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्यसमेत राम्रै पाएका छन्।

त्यस क्षेत्रका किसानले उत्पादन गरेको केरा स्थानीय व्यापारीमार्फत झापाको विर्तामोड, दमक, धरान, विराटनगरका साथै मुख्य सहर काठमाडौँसम्म पुग्ने गरेको छ।    -रासस

प्रकाशित: Mar 09, 2024| 10:01 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्