काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।
कांग्रेस संसदीय दलको बिहीबारको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि अध्यक्ष दाहालले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको बताएका छन्।
विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको प्रमुख सचेतक लेखकको भनाइ थियो।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पछिल्लो समयमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सरकार गठनमा दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। साथै सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए।
बैठकले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरुपमा प्रस्तुत हुन निर्देशन गरेको छ। नेपाली कांग्रेस प्रतिनिधिसभाको ठूलो दल हो।