महोत्तरी- पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वन क्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ।
महोत्तरीको भब्सीपुलदेखि सर्लाहीसँगको सीमा पर्ने बाँके पुलसम्मको करिब १६ किलोमिटर दूरीको वनक्षेत्रमा जताततै लागेको डढेलोले परैसम्म धुवाँको मुस्लो देखिएको हो।
धेरैजसो पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ सागरनाथ वन विकास परियोजनाको प्लटमा देखिने डढेलो अब उत्तरतर्फ पनि बढेको छ।
राजमार्ग दक्षिण परियोजना र उत्तरतर्फ सामुदायिक (राष्ट्रिय वन) वनक्षेत्र छ। डढेलोको चपेटामा बढी परेको जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने परियोजनाको वनक्षेत्र अभिलेखले आठ हजार हेक्टर देखाउँछ।
यद्यपि ठाउँठाउँमा भएको अतिक्रमणले हाल परियोजनाको वनक्षेत्र छ हजार हेक्टर मुनि झरेको वनसम्बद्ध अधिकारी स्वीकार गर्छन्। यसैगरी, जिल्लामा परियोजनाबाहेक सामुदायिक र धार्मिकसहितको वनक्षेत्र अभिलेखमा १६ हजार हेक्टरमाथि छ। यी क्षेत्रमा पनि अतिक्रमणको चपेटा छ।
एकातर्फ अतिक्रमण र बर्सेनि फागुन÷चैतको डढेलोले वन सखाप पारिरहेको वनक्षेत्र नजिकका बासिन्दा बताउँछन्।
‘वन क्षेत्रका रुखदेखि जग्गासम्म तस्करमा आँखा छन्, वन क्षेत्र ओगट्ने कारबाहीमा परेका देखिँदैनन्’, बर्दिबास–३ का पाटुका बासिन्दा होमबहादुर खड्का भन्छन्, ‘बर्सेनि डढेलोले वनक्षेत्र उजाड देखिएको छ।’ अतिक्रमणको चपेटा र बर्सेनिको डढेलोले वनक्षेत्र सखाप बन्दै गएको छ।
फागुन मध्ययता पहिले परियोजनाका प्लटमा देखिने डढेलो दुई/तीन दिनयता राजमार्ग उत्तरको सामुदायिक वनक्षेत्रमा बाक्लै देखिन थालेको छ।
वनमा डढेलो देखिएपछि बस्तीमा त्रास छाउने गौशाला–८ ढल्केवर बेलगाछीका सामाजिक राजनीतिक कार्यकर्ता मीन रहपाल बताउछन्। “बस्तीसँगै जोडिएको वनक्षेत्रमा आगोको मुस्लो देखिन्छ, डरले राति निदाउन सकिन्न’, रहपाल भनछन्।
यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रका पतिङ्गर (रुखबाट झरेका पात) खङ्रिएका हुँदा आगो चाँडै फैलने गरेको छ। दिनहुँको डढेलोले वनक्षेत्रका ससाना नयाँ बुटा डढेर कालो ठुटा बनेका छन्।
अहिले बढी डढेलो परियोजना प्लटमा देखिए पनि राजमार्ग उत्तरको सामुदायिक वनक्षेत्रमा पनि दुई/तीन दिनयता डढेलो बाक्लै बढेको छ। सामान्यतया चैतमा बढी देखिने डढेलो यसपाली भने मध्य फागुनदेखि नै बढेको हो।
जिल्लाको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका सागरनाथ वन विकास परियोजनाको प्लटबाहेक राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन र धार्मिक वनक्षेत्र पनि डढेलोले उजाड बनाउँदै लगेको बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा बताउछन्।
‘राजमार्ग दक्षिणबाट सल्केको डढेलो अब राजमार्ग उत्तरतिर पनि बढ्दै गएको छ’, स्याङ्वा भनछन्, ‘डढेलो नियन्त्रणमा अब कडाइ जरुरी छ।’ पूर्वपश्चिम राजमार्ग तल्तिर (दक्षिण) सागरनाथ वन विकास परियोजनाका प्लट छन्। माथितिर (उत्तर) राष्ट्रिय तथा सामुदायिक र धार्मिक वनको क्षेत्र बढी छ। अहिले तलतिर बढी डढेलो देखिएको छ।
‘धनुषा र महोत्तरीको साँध रातुपुलदेखि पश्चिम बाँकेपुलसम्मको महोत्तरीको करिब १८ किमी दुरीभित्रै पूर्वपश्चिम राजमार्गसँगै जोडिएर बर्दिबास र गौशाला नगरक्षेत्रका वनभित्रै चार वन सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्, सशस्त्र वन सुरक्षा कार्यालय छ , यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट नै छन्,’ वनक्षेत्रसँगै जोडिएको गौशाला–१० का विवेक कुशवाहा भन्छन्, ‘डढेलो लगाउने कहिल्यै समातिएनन्।’
डढेलो लगाएबापत कोही समातिने र कारबाहीमा पर्ने नदेखिएपछि डढेलो लगाउने बढेको कुशवाहाको भनाइ छ। खासमा वनसम्बद्ध कर्मचारीले जिम्मेवारी क्षेत्रलाई सेवाको काम नभएर जागिर बुझ्ने प्रवृति र वनसम्बद्ध समिति तथा कार्यालयको उदासिनताले वन उजाड हुँदै गएको यहाँ आम टिप्पणी बढेको छ।
वनमा डढेलो लगाए त्यसपछि पानी परेलगत्तै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बुढापाकाको ठम्याइ छ।
दिनहुँ गाईबस्तु डुलाउन वनक्षेत्र पुग्ने गोठालाले नै यस्तो गर्नेगरेका धेरैको बुझाइ छ। बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दाको गुनासो छ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत अभिलेखमा २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाउँदै आएको छ।
यद्यपि पछिल्ला दुई दशकयता बढेको राजनीतिक संरक्षित अतिक्रमणले वनक्षेत्र अब १६ हजार हेक्टरभित्र खुम्चेको वन अधिकारी नै स्वीकार गर्छन्। पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रूखविहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउछन्।
वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ।
वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने वन कर्मचारीको भनाइ छ।
खासमा डढेलो वन वरिपरिकै पशुपालक परिवारका गोठालाबाट हुने भएको हुँदा यसको नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य बनेको डिभिजन वन कार्यालयका प्रमुख सन्तोस झा बताउछन्।
‘वनमा डढेलो रूखहरुबीचको घर्षण र आगो सल्काएरै हुने हो, यहाँ धेरैजसो सल्काइएको आगोले नै नोक्सान गर्दै आएको छ’, झा भनछन्, ‘बर्सेनि डढेलो नियन्त्रणका लागि छलफल, प्रचारप्रसार गरिँदैछ, यद्यपि यो नियन्त्रण हुन सकेको छैन।’ आगो सल्काएर हिँडेपछि अनुमानको आधारमा कसैलाई समात्ने न्यायोचित नहुने र यो मिनटभरमै गर्ने भएपछि यस्तालाई नियन्त्रणमा लिन कठिनाइ भएको झा स्वीकार गर्छन्।
‘हामी सुरक्षा र प्रशासनिक निकायको समन्वयमा गस्ती गरिरहेका हुन्छौं तर डढेलो नियन्त्रणका लागि यो पर्याप्त छैन’, झा भनछन्, ‘स्थानीय तह, नागरिक समाज, वनसम्बद्ध समिति र आम उपभोक्ताबीच डढेलोविरुद्ध समन्वय र संयुक्त पहलकदमीको आवश्यकता छ।’ यस्तो समन्वयका लागि डिभिजन वन कार्यालयले आफ्ना मातहत कार्यालयमार्फत निरन्तर प्रयत्न गरिरहेको उनको भनाइ छ। -रासस