बिहीबार, चैत २६, २०८२

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

मुगु- लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ। एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर सुचारु गरेको थियो। शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो।

National life

सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारीसाधन बाटोमै रोकिएका छन्। झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। मौसममा सुधार आउनासाथ सडक रक्षक र एक्स्काभेटर प्रयोगले हिउँ हटाइने उनको भनाइ छ।

कार्यालयले सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।  

सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालवाहक सवारीसाधन बुलबुलेमा रोकिएका छन्। नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ। नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ।

पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन एक्स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ। साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ।

kumari

प्रकाशित: Mar 03, 2024| 15:56 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्