शुक्रबार, भदौ १२, २०८३

बालविवाह रोक्न आठबीसकोट-३ मा यस्तो उपाय

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

त्रिवेणी- रुकुमपश्चिमको आठबीसकोट नगरपालिका- ३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।

वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट- ३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए।

उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए। विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए।

वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ। सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो।

‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ। वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ। बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ’, वडाध्यक्ष विकले भने। वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ।

प्रकाशित: Mar 03, 2024| 21:01 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्