बिहीबार, चैत २६, २०८२

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

म्याग्दी- पर्यटक आगमन बढाउने र बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ।

National life

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए। 

लुप्रा-मुक्तिनाथ, ठिनी-तिलिचोताल र कोखेठाटी-सिरकुुङ-सौरु-चोखोपानी-चिमाङ-धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए।

'स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न संकेत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ', उनले भने, 'केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौँ।'

पुरानो पदमार्ग बेनी-जोमसोम र जोमसोम-कागबेनी-मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ। धुलो र धुँवाले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन्।

kumari

पदप्रर्दशकसमेत रहेका मुस्ताङको लेतेका हरि नेपालीले मुस्ताङमा सडक बनेपछि स्वदेशी र भारतीय पर्यटक आगमन बढे पनि पैदलयात्रा गर्ने तेस्रो देशका पर्यटकको सङ्ख्या घटेको बताए। पदमार्ग मासिएको र यात्रा अवधि छोटिँदा धेरै राजस्व तिर्ने र खर्च गर्ने क्षमता भएका तेस्रो मुलुकका पर्यटक घटेका उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९ दशमलव १२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९ दशमलव २० प्रतिशतमा झरेको छ।

सन् २०२३ मा ९० हजार तीन सय ६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार एक सय ६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार एक सय ९० जना छन्।

सन् २०२२ मा ६५ हजार नौ सय ४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार सात सय २४ जना र तेस्रो मुलुकका १८ हजार एक सय ६६ जना रहेका एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बाताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल रहेका छन्।

म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन्। रासस

प्रकाशित: Mar 03, 2024| 18:01 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्