बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कैदीलाई गृहमन्त्री श्रेष्ठले भने- हिजोको कुरा बिर्सनुस्, अब असल बनेर निस्कनुस्

कैदीलाई गृहमन्त्री श्रेष्ठले भने- हिजोको कुरा बिर्सनुस्, अब असल बनेर निस्कनुस्

 |  शनिबार, फागुन १९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १९, २०८०

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिएका छन्।

National life

लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उनले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गरे।

“ध्यानले तपाईहरुलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पुर्याउँछ, हिजो के भयो त्यो बिर्सनुस्, अब समाजमा फर्कदा यहाँहरु अरुभन्दा असल हुनुहुन्छ”, ध्यानले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पुर्याउने छ, तपाईंहरु त्यसतर्फ अघि बढ्नुहोला।”

ध्यानमार्फत आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिङ्गो समाजलाई नै परिवर्तन गर्न सकिने उनको भनाइ छ। “यहाँहरुले जीवन परिवर्तनको गहना प्राप्त गर्नुभएको छ, त्यसलाई सदैव अनुकरण गरिरहनुहोला”, उनले भने। सरकार कैदीबन्दीको कारागार जीवन सहज बनाउन, श्रमको सदुपयोग हुने स्थिति बनाउन तथा मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन क्रियाशील रहेको उल्लेख गर्दै उनले कैदीबन्दीलाई रुपान्तरण गर्ने, जीवन फेर्ने अभियान चलाउन खोजिएको बताए। “जेलभित्र पनि ध्यान शिविर चलाउने त्यसकै कदम हो, सबै बन्दीलाई ध्यान विधिद्वारा जीवन रुपान्तरण गराउन लागिएको छ”, उनले भन। 

ध्यान कार्यक्रममा सुरुआतको अनुभव समापनसम्ममा सुखद्मा परिणत हुने सुनाउँदै उनले एकपटकको ध्यानले मात्र जीवन रुपान्तरण नहुने बताए। “शिविरले विधि सिकाएको छ, अब आफैँले अभ्यास गर्नुपर्छ”, उनले भने, “गृह मन्त्रालयले मातहतका सबै निकायमा छोटो अवधिको ध्यान अभ्यासलाई अघि बढाएको छ।” कारागारमा पर्याप्त समय लिएर चलाइएको विपश्याना ध्यान कार्यक्रमले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब दैनिक यसको अभ्यास गर्न सुझाव दिए। “ध्यान आफ्नो जीवन रुपान्तरणका लागि नै गरिने हो, ध्यानले स्वअनुसाशित हुन सिकाउँछ”, उनले भने, “बन्दीको जीवनमा रुपान्तरण आउँदा समाज र देशलाई फाइदा हुन्छ, पहिलो फाइदा भने बन्दीलाई नै हुन्छ।”
    
उपप्रधानमन्त्री श्रेष्ठले यही फागुन ८ गते नक्खु कारागारमा ध्यानकेन्द्रको उद्घाटन गरेका थिए। विपश्याना ध्यान केन्द्रको लगानीमा उक्त ध्यानकेन्द्र निर्माण गरिएको कारागार कार्यालयका प्रमुख कल्पना घिमिरेले जानकारी दिए। १० दिनसम्म चलेको सो ध्यान शिविरमा तीन सुरक्षाकर्मीसहित ४८ कैदीबन्दीले सहभागिता जनाएका थिए। 

kumari

नेपाल विपश्यना केन्द्रले देशभरि १९ ध्यानकेन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो। केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको विपश्यना ध्यानकेन्द्रका क्षेत्रीय आचार्य डा रुप ज्योतिले जानकारी दिए। 

प्रकाशित: Mar 02, 2024| 21:00 शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्