बिहीबार, चैत २६, २०८२

लागू औषधविरुद्ध धनुषा प्रहरीले थाल्यो विशेष अभियान

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

धनुषा- लागुऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ। धनुषा प्रहरीले लागुऔषधविरुद्ध थालेको विशेष अभियानअन्तर्गत तेस्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो।

National life

इलाका प्रहरी कार्यालय लग्मा जटही र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको जाँचकी टोलीले भारतको पिपरोनबाट जटही नाका हुँदै लागुऔषध सेवन गरी नेपालतर्फ आउँदै गरेको २६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाँले जानकारी दिएका छन्।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोमा थप अनुसन्धानपश्चात् २५ जनालाई छोडिएको र सोमध्ये एकजनामाथि लागुऔषध शीर्षक मुद्दा चलाइएको प्रवक्ता अवाँले बताएका छन्। बिहीबार लागुऔषध सेवनकर्ता २५ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको र धेरै मात्रामा लागुऔषध बरामद भएकामा एकजनाविरुद्ध मुद्दा चलाइएको उनले बताए।

करिब दुई महिनाअघिदेखि थालिएको अभियानअन्तर्गत पहिलोपटक ४५ जना, दोस्रो पटक ३४ जना र तेस्रोपटक २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमध्ये पहिलोपटक चार जना, दोस्रोपटक दुई जना र तेस्रोपटक एक जना लागुऔषधसहित बरामद भएका व्यक्तिउपर मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक अवाँले जनाए।

भारत बिहारको खुला सीमासँग जोडिएको धनुषामा पछिल्ला समयमा लागुऔषधकै कारण विभिन्न आपराधिक घटना बढेपछि धनुषा प्रहरीले यो अभियान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एवं प्रमुख मित्रबन्धु शर्माले बताए। उता जाने लागुऔषध सेवन गर्ने र नेपालमा आएर अपराध गर्ने गतिविधि बढेपछि यसलाई निरुत्साहित गर्न धनुषा प्रहरी सक्रिय भएको उनले बताए।

kumari

करिब दुई महिनादेखि धनुषा प्रहरीद्वारा थालिएको यो अभियान निरन्तर चलिरहने उनको भनाइ छ। ‘बोर्डरमा स्वीप अभियानअन्तर्गत लागुऔषध सेवनकर्ता र ओसारपोसामा संलग्न धमाधम समातिँदै छन्,’ उनले भने, ‘नियन्त्रणमा लिएकालाई एकरात हिरासतमा राख्ने त्यसपछि अर्कोदिन बिहान परामर्श दिने, कक्षा लिने, उनीहरुको रेकर्ड हेर्ने र अभिभावकलाई अनिवार्य रुपमा बोलाएर उनीहरुको अगाडि पनि लागुऔषधको नकारात्मक असरबारे बताउँदै सकारात्मक सन्देश लिएर छोड्ने गरेको छु।’

प्रकाशित: Mar 01, 2024| 19:31 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्