बुधबार, असार १०, २०८३

जंगली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

राँझा- बाँकेमा जंगली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। मध्यवर्ती क्षेत्रका बस्तीमा जंगली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ।

National life

जंगली जनावरबाट बाली जोगाउन राप्ती सोनारीका मध्यवर्ती क्षेत्रमा पर्ने वडा कार्यालयले यो वर्ष तारजाली लगाउने तयारी गरेका छन्। अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए।

‘निकुञ्जबाट आउने जनावरले जनताको बालीमा नोक्सानी पुर्‍याउने क्रम नरोकिएपछि तारजाली लगाउने प्रक्रिया अगाडि बढाएका छौँ’, वडाध्यक्ष थारूले भने, ‘यो वर्ष बढी प्रभावित क्षेत्रमा तारजाली लगाउने कार्य सुरु भएको छ।’

राप्ती सोनारी-९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारूको भनाइ छ। बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका-१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका-१३ को खड्कवार, भरैया र राप्ती सोनारी गाउँपालिका-९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नं ८ को शम्शेरगञ्ज, गोठेरी, बाँदरभरिया र वडा नं १ को खासकुस्माका गाउँबस्तीमा जंगली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन्।

जंगली जनावरले आलु, तोरी, मकै, गहुँलगायतका हिउँदे तथा बर्खेबालीमा बढी नोक्सानी पुर्‍याउने गरेको राप्ती सोनारी गाउँपालिका-९ बुच्चापुरका लीला परियारले बताए। उनले यो मौसममा आफ्नो पाँच कठ्ठा क्षेत्रफलमा लगाएको तोरी जनावारले नष्ट गरिदिएको जानकारी दिए। उनका अनुसार आलु, मकै र तोरी बाली बँदेलले बढी मन पराउने भएकाले यो समयमा बँदेलको बिगबिगी हुने गरेको छ।

Shivam cement

कोहलपुर नगरपालिका-१३ खड्कावारका स्थानीय अगुवा शिक्षक दुर्गा डाँगीले जंगली जनावारले खेतीबाली खाइदिएर ठूलो क्षति पुर्‍याएको बताए। ‘मेहनत गरेर वर्ष दिनभरि खाने खेती उब्जनी गर्यो जनावरले खाइदिन्छन्’, डाँगीले भने, ‘जंगली जनावरका कारण गाउँलेको उठिबास हुने हो कि भन्ने चिन्ता छ।’

राप्ती सोनारी गाउँपालिका-८ नं वडा कार्यालयले पनि जंगली जनावर नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रको जंगल क्षेत्रमा तारजाली निर्माणलाई प्राथमिकता दिएको छ। यो वर्ष मध्यवर्ती क्षेत्रको अमुवागाउँमा करिब तीन सय मिटर तारबार मेसजाली लगाउने योजना रहेको वडाध्यक्ष शालिकराम डाँगीले बताए।

राप्ती सोनारी-१ खासकुस्माका गाउँबस्तीमा जंगली जनावरले धेरै दुःख दिने गरेको वडाध्यक्ष यमबहादुर खड्का बताउँछन्। उनले राप्ती सोनारी गाउँपालिकाले विगतका वर्षमा तारजालीको योजना ल्याए पनि गत वर्ष र यो वर्ष कुनै काम हुन नसकेको उल्लेख गरे। तारजाली लगाएपछि जंगली जनावरबाट हुने क्षति केही कम भएको उनको भनाइ छ।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व-पश्चिम राजमार्गको दुरी ७२ किलोमिटर रहेको छ। निकुञ्जभित्र पर्ने तीन सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिए।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मानव तथा बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रमा तारबारका लागि संघीय सरकारसँग योजना माग गरिएको बताए। रासस

प्रकाशित: Mar 01, 2024| 07:31 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्