बिहीबार, चैत २६, २०८२

घोराहीमा जलाशयको पानीले कृषिजन्य उत्पादन वृद्धि

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

दाङ- घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ। नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ।

National life

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन्। प्रदेश सरकारको ४५ लाख रूपैयाँ, स्थानीय सरकारको ५० लाख रूपैयाँ र उपभोक्ताको पाँच लाख रूपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो।

घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए। जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारीखेतीमार्फत आम्दानी पनि भइरहेको उनले बताए।

कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको भनाइ छ। 'वडा नं १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ। कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ', चौधरीले बताए।

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नं १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि करिब साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाए।

kumari

'जलाशय निर्माणपछि सिँचाइको समस्या छैन। यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ', उनले भने, ' मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक २० देखि २५ हजार रूपैयाँ आम्दानी गरिरहेकी छु। लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ।'

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुंगासमेत सञ्चालन गरिएको बताए। अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब एक करोड ८० लाख रूपैयाँको लगानीमा निर्माण भएको हो। 'जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुंगा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौँ', पाण्डेले भने।

सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन्। गर्मीमा पानीको समस्या धेरै नै थियो। तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन्। त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो।

नगरलाई सुक्खा हुनबाट बचाउन सुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरूलाल चौधरीले बताए। उनले नगरमा पानीका स्रोत बचाउन पानी संकलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गरे।

'नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो। जसले गर्दा पानीका मुहानहरू सुक्दै गए। पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ', उनल भने, 'नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ। जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ', उनले भने।

जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको सोही ठाउँका किसान बताउँछन्। घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन्। रासस

प्रकाशित: Feb 29, 2024| 20:31 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्