आइतबार, वैशाख २३, २०८१

दादुरा-रुवेलाको खोप कति सुरक्षित र प्रभावकारी ?

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

यही आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ । 

triton college

महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गरे । “खोपले ८५ प्रतिशतलाई दादुरा रुवेलासँग लड्ने क्षमता विकास गर्दछ,” उनले भने । खोपलाई दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने र खोप लगाउँदा मासुमा लगाउनुपर्ने विभागले जनाएको छ । 

दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै यही फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गुणस्तरययुक्त भनी प्रमाणित भएको र औषधि व्यवस्था विभागले मान्यता दिएकाले खोप सुरक्षित रहेको बताए । उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।

उनले खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली गठन गरिएको बताए । खोप भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सवै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । 

जाजरकोट र पश्चिम रुकुममा गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्ल्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियो विरुद्धको खोप पनि सञ्चालन हुने छ । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए । 

corrent noodles
Metro Mart

अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने खोप शाखा प्रमुख डा गौतमले बताए ।
 

प्रकाशित: Feb 24, 2024| 21:30 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्