पोखरा- वर्षेनी युवा पलायन हुने तथ्यांक बढ्दो छ। दैनिकरुपमा तीनहजार नेपाली युवा बाहिरिने तथ्यांक छ। पछिल्लो वर्षका तथ्यांकमा नेपाली खाडी मुलुकमा नभई यूरोपियन मूलक र अन्य देशमा पलायन हुनेको संख्या पनि उत्तिकै छ। देशमा भविष्य नदेख्दा युवामाझ वितृष्णा बढ्दो छ। पलायन भएका युवा देश फर्किए पनि के गर्ने प्रश्न छ ?
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन यही विषयमा बहस भयो। ‘ब्रेन गेन: फर्केर के गर्ने ?’ शीर्षक बहसमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा थिए भने सहजकर्ता सोनिया अवाले। नेपाली विदेशिने संस्कृति लामो समयदेखि रहेको सुनाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद चुनिएका स्वर्णिम वाग्लेले। श्रमको खोजिमा भौतारिने स्वरुप बदलिएको बताउँछन् उनी।
‘रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै खोज्दै मुग्लान झर्ने आर्मीमा आबद्ध हुने पूरानै हो यसको स्वरुप बदलियो। २१ औँ शताब्दीमा श्रम र पूजीँको अन्तरघुलन भूमण्डलीकरण चर्केको हो। क्यापिटल र लेबलको मुभमेन्ट भएको हो,’ उनले भने।
समय चक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता पारेपछि नेपालीले सो अवसरलाई सदुपयोग गरेको शृङ्खलाको भनाइ छ। अवसर देखिरहेका नेपालीले विकसित देशहरुको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको उनले बताईन्।
‘समय चक्रले यस्तो बनायो विदेशी भूमिका युवा शक्ति, कामदारको कमी भयो विभिन्न दक्षताको चाहियो। त्यो कारणले उनीहरुले ढोका खोल्दै गए। नेपालीले देखिरहेको थियो। त्यसपछि नेपालीहरु जान थाले,’ उनले भनिन्।
अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति कस्तो जरुरी छ त ? बाध्यता र आवश्यकताका कारण विदेश होमिएका नेपाली फर्काउन समस्या नरहेको उनी सुनाउँछिन्। नेपाल फर्किसकेपछि उनीहरुलाई अडाई राख्ने अवसरको विषयमा प्रश्न चिन्ह खडा भएको उनको भनाइ छ।
‘बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन्। उनीहरु खाडी मूलकमा गइरहेका छन्।उहाँहरुलाई नेपाल फर्काउनु हाम्रो लागि च्यालेन्ज होइन तर फकाई सकेपछि कसरी नेपालमा राख्ने प्रश्न हो,’ उनले भनिन्।
यस्तै अर्को वर्ग छ। जसको आवश्यकता वा आर्थिक बाध्यता नेपाली छोड्नु पर्ने छैन। थप, नयाँ सिर्जनात्मक अवसरको लागि पलायन हुने वर्गलाई रोक्नु वा फर्काउनु चुनौती रहेको विचार राख्छिन् उनी।
‘दक्षता बढी होला त्यो डिग्राी म्याच हुने जागिर छैन आफनो त सुरक्षा भइहाल्यो अब आउने छोराछोरीको लागि उहाँहरु राम्रो अवसरको लागि नेपाल छोडेर जाँदै हुनुहुन्छ उहाँहरुलाई नेपाल फर्काउनु एकदम च्यालेजिङ कुरा हो,’ उनले भनिन्।
यी सबै समस्याको सम्बोधन गर्नका लागि ग्लोबल सिटिजन क्नसेप्ट महत्वपूर्ण रहेको स्वर्णिम वाग्लेको विचार छ। नीजि व्यवसायी वा लगानीकर्ता विदेशलाई कर्मथलो बनाएका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सजिलो बनाउनुपर्ने विचार उनको थियो।
‘ग्लोबल सिटिजनको कन्सेप्ट नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ। नभनिएको होइन हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छौँ भन्ने छ तर त्यो वातावरण छैन,’ उनले भने।
आर्थिक सुरक्षा खोजेर विदेश पलायन भइरहेका युवाहरुलाई देशमा रोजगारीको वातावरण सिर्जन गर्नुपर्ने शृङ्खला बताउँछिन्। सरकारी संयन्त्रबाट रोजगारको आशाभन्दा निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। नीजि क्षेत्र बलियो भने उनीहरुले रोजगारी अवसर सिर्जना गर्न सक्ने विचार राख्छिन्। संकुचित भएका नीजि क्षेत्रलाई सहयोग गरेर युवा तान्न सकिने भनाइ राखिन्।
‘निजी क्षेत्र संकुचित भए । प्राइभेट सेक्टरलाई सहयोगको खाँचो। छ यसरी नै हो युवालाई तान्न सक्ने,’उनले भनिन्।
हार्भर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी शृङ्खला नेपाल फर्किएकी हुन्। आफनो लागि नेपालमा अवसर भएकै कारण फर्किएको भनाइ राख्छन् उनी।
‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ। नेपालमा एक हिसाबको उचाई पाइसकेपछि ग्लोबली केही गरौँ भन्ने थियो। ग्लोबल एरिनामा मैले केही गर्नुछ भने नेपाललाई नै लन्च प्याड बनाउँदा सबभन्दा भ्यालुएबल र सुनौला अवसर थियो,’उनले भनिन्।
आफूले नेपालमा युवामाझ कमाएको चर्चाका कारणपनि फर्किएको सुनाउँछिन् उनी। पब्लिक फिगर भइसकेपछि नेपालमा नफर्किदा यसले युवालाई निराशा जगाउन सम्भावना रहेको कारण पनि नेपाल आएको उनको भनाइ थियो।
स्वर्णिम २० वर्ष विदेशी भूमिलाई कर्मथलो बनाएपछि नेपाल फर्किएका व्यक्ति हुन्। रामशरण महत लगायतका नेताले स्वदेश फर्किन घचघचाएपछि नेपाल फर्किएको सुुनाउँछन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका स्वर्णिम फर्किएसँगै विभिन्न संस्थामा सल्लाहकारी भूमिकामा देखिए। सल्लाहकारी भूमिकामा आफु निभाएको भूमिकाले अन्तर मनमा आँट दिइरहेको थियो। नतीजामूखी काम गर्नका लागि कार्यकारी भूमिका नै जान्छु भन्ने सोचे।
‘यो सल्लाहकारको भूमिकाबाट अब म कार्यकारीमा नै हुन्छु, राजनीनितमा नै होमिन्छु भनेर लागेँ। अहिले जनताले जिताएर ल काम गर्न त भनेर पठाउनुभएको छ,’ उनले भने।