काठमाडौं- रोजगारीका लागि रसिया पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-६ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीय सरोज थापा छन्।
थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिन्छु भनेर ७ लाख ३० हजार रुपैयाँ लिएका थिए। रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम पाइने र मासिक एक लाख रुपैयाँ तलब हुने प्रलोभन उनले देखाएका थिए।
रकम लिएर थापा सम्पर्कविहीन भएपछि साउदले प्रहरीमा उजुरी दिएका थिए। थापा किर्तिपुरबाट पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।