काठमाडौं- कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा क्याफेमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका हुन्।
‘डिपिक्सन’ नाम दिईएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाईरहेका मिश्रले ३ हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन्।
कार्टुनलाई समाजसँग अन्तर्क्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन्।
सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्।