बिहीबार, चैत २६, २०८२

छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुढा पक्राउ

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गरेको आरोपमा उनकै बाबु ४५ वर्षीय नयाराम बुढा पक्राउ परेका छन्। कैलालीको टीकापुर–१ लम्कीपुर भन्ने ठाउँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। 

National life

घटना घटेको दिनदेखि नै सम्बन्धित नाकाहरुमा प्रहरी खटाइएको थियो। लम्कीपुरमा उनी साडु दाइको घरमा बसिरहेका थिए। त्यहीँबाट उनी भारतर्फ जाने प्रयासमा रहेको बताइएको छ। 

मंगलबार राति १ बजेतिर उनले आफ्नै छोरा भरतको बन्चरो प्रहार गरी हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ। भरतको शव सबैभन्दा पहिले उनकै बहिनीले देखेकी थिइन्। त्यसपछि उनले गाउँलेलाई खबर गरिन् र गाउँलेले इलाका प्रहरी कार्यालय बाबिया चौरमा खबर गरेका थिए। 

राति नै अनुसन्धानको टोली त्यहाँ गएर अनुसन्धान सुरु गरेको थियो। कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि त्यहाँ पुगेको थियो। अनुसन्धानको क्रममा घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए। बहिनीले पनि बुबाले नै भरतको हत्या गरेको बताएकी थिइन्। 

छोराको मृत्यु भएपछि घर अगाडिको बाख्राको खोर नजिकै सुकेको डाले घाँसले शव छोपेर नयाराम फरार भएका थिए। बुबाले छोराको हत्या गर्नुको पछाडि बलात्कार प्रकरण जोडिएको छ। गत असोज तेस्रो साता छोरीलाई बलात्कार गरेको भन्दै नयाराम विरुद्ध प्रहरीमा जाहेरी परेको थियो। भारतमा काम गरिरहेका नयारामले घरमा आएको बेला मामाघरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

kumari

बहिनीले यो कुरा दाइलाई भनेपछि भरतले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीका अनुसार नयारामले दुइटा विहे गरेका थिए। मृतक युवा र बलात्कारको शिकार भएकी छोरी जेठी श्रीमतीतिरका हुन्। बलात्कारको जाहेरी परेपछि नयाराम कान्छी श्रीमती लिएर भारत गएका थिए। 

आफुविरुद्ध प्रहरीमा जाहेरी दिएको रिसमा बाबुले नै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ। मृतकका काकाले बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दर्ता गराएका छन्।

प्रकाशित: Jan 18, 2024| 11:30 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्