कटारी (उदयपुर)- उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ।
फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडा सदस्य पष्पु खाँले बताए। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए। वडा सदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो।
शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ। “आजै उठाइएको फोहरमा शव रहेछ”, वडा सदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ।” इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ।