काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोट भएका छन्। नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ।
जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए । उनका अनुसार २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए। तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो।
सामान्य प्रशासन मन्त्री अनिता देवी आफैँले निर्णय गरेर छनोट गरेकी हुन्। छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी सापकोटाले दिए।