काठमाडौंको ब्रम्हटोलस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा दुईजना मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोलस्थित देवनारायण डंगोलको घरमा बुधबार बिहान विद्युत शर्ट भई आगलागी हुँदा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो।
प्रहरीका अनुसार राजेन्द्रमानको जलेर मृत्यु भएको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने एक जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
धादिङको थाक्रे गाउँपालिका-१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओम चोक सैलुङगेश्वरी गेस्ट हाउस नजिक बागमती खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।