वीरगन्ज- वीरगन्जबासीले जेठ २०७१ मा एक प्रहरी अधिकारीलाई सय किलो फूलको माला लगाएर सम्मान गरे। समुदायले प्रहरीलाई यो तहको सम्मान गरेको विरलै पाइन्छ।
यो सम्मान र माया पाएका थिए तत्कालीन नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी सर्वेन्द्र खनालले। खनाल तिनै प्रहरी अधिकृत हुन् जसले बारा, पर्सा, रौतहटजस्ता सुरक्षाका हिसाबले अति संवेदनशील जिल्लाहरुमा आफ्नो क्षमता देखाएका थिए।
त्यतिबेला यो क्षेत्र सुरक्षाका हिसाबले निकै संवेदनशील थियो। हत्या, अपहरण, विस्फोट, मानव बेचबिखन, साना हतियार, जाली नोट, लागू औषध ओसारपसार, महिला हिंसा, बाल विवाहजस्ता अपराधको ग्राफ बढ्दो थियो। खुला सिमानाका कारण सीमापार अपराध चर्कै रुपमा हुन्थ्यो। यताबाट बच्चा अपहरण गरेर उता लैजाने र बार्गेन गर्ने गिरोहहरु सक्रिय थिए। हत्यासमेत हुन्थ्यो कतिपय अवस्थामा। नेक्सस नै थियो यस्तो गिरोहको।
अञ्चल प्रहरी प्रमुख भएर वीरगन्ज आउनासाथ खनालले यी सबै क्षेत्रमा सक्रियता बढाए। भारतीय प्रहरीका लागि समेत टाउको दुखाइ बनेका भारतीय मस्ट वान्टेड बब्लु दुबे नेपालमा लुकीछिपी बसेको सूचना उनले पाए। ३० जनाभन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लुलाई सर्वेन्द्रले समाते र भारतीय प्रहरीलाई बुझाइदिए।
वीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार हुन् बब्लु। उनले भारतको कारागारबाट समूह परिचालन गरेर व्यापारी केडियाको अपहरण गरेर भारत पुर्याएका थिए। अपहरणमा परेका केडियालाई नेपाल र भारतीय प्रहरीको संयुक्त प्रयासमा भारतमै अपहरणमुक्त गरेर नेपाल ल्याइएको थियो।
नेपालमा लुकेर बसेका उनलाई काठमाडौंको सीतापाइलामा पक्राउ गरी भारत बुझाइएको थियो। आफू नेतृत्वको अञ्चल प्रहरी कार्यालय नारायणीको टोलीले कसरी काठमाडौं आएर बब्लुलाई पक्राउ गरेको थियो भन्ने चाखलाग्दो घटनाक्रम अहिले पनि सुनाउने गर्छन् पूर्व एसएसपी खनाल।
कुख्यात भारतीय अपराधी सन्तोष झाका मुख्य सहयोगी बब्लुमाथि भारतमा हत्या, अपहरण र रकम असुलीका ३६ घटना दर्ता थिए। भारतीय प्रहरीले खोजी सुरु गरेपछि नेपालको वीरगन्जमा आएर बसेका उनी २०७० जेठ १५ मा सीतापाइलाको एक अपार्टमेन्टबाट पक्राउ परेका थिए।
त्यसपछि खनालले वीरगञ्जका गुण्डा नाइके सुनिल जयसवालको इन्काउन्टर गरे। बारामा ९ जना मान्छे मार्ने अपराधीलाई प्रहरी कारबाहीमा सिध्याए। 'प्रहरीको यो सक्रियताले वीरगन्जबासीमा आशाको सञ्चार हुन पुग्यो। त्यसअघि आएका प्रहरी अधिकारीहरुले यस्तो माहोल बनाउन सकेकै थिएनन्,' वीरगन्जका नागरिक अगुवा शमशेर मिया भन्छन्।
दोस्रो संविधानसभा निर्वाचनपछिको त्यो समयमा सशस्त्र समूहको बिगबिगी थियो मधेशमा। कतिपयले पार्टीकै नाममा आपराधिक गतिविधि गर्थे। पहाडियालाई लखेटेर उनीहरुको सम्पत्ति हात पार्ने काम पनि हुन्थ्यो। गैरकानुनी हतियारका कारण आम मानिसले चैनको सास फेर्न पाइरहेका थिएनन्। १०९ वटा सशस्त्र समूह थिए मधेशमा। प्रहरीको सक्रियतामा त्यस्ता समूह ३ वटामा सीमित भए, हजारौं हतियार सिज गरिए।
'अपहरण गर्नेहरु कसैलाई इन्काउन्टर गरे, कसैलाई लकअपमा राखे सर्वेन्द्रले। भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरे। उताको प्रहरीले सहयोग गर्दैन कतिपय अवस्थामा। धेरै प्रहरी अधिकारी त्यो जोखिम मोल्नै चाहँदैनन्। खनालले भने अदम्य साहस देखाएर काम गरे। उनको कामबाट दुई देशबीच भाइचाराको वातावरण बन्यो। व्यापारीहरु रक्सोल जान डराउँथे। स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष नै 'हामी रक्सोल हिँडेर नगएको ८-१० वर्ष भयो' भन्थे। उनीहरु ढुक्कले हिँडडुल गर्न सक्ने भए। सरकारको राजस्व बढ्यो,' मियाले सुनाए।
मधेशलाई राजधानी काठमाडौंको लाइफलाइन मानिन्छ। काठमाडौंबासीले खाने सबैजसो खानेकुरा यतैबाट जान्छ। आयात हुने सामग्री पनि यहीँको नाकाबाट आउने हो। यस हिसाबले मधेश काठमाडौंसँग प्रत्यक्ष जोडिएको छ। देशको अर्थव्यवस्था जोडिएको छ मधेशसँग। जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अपराध सीमामा भइरहेको थियो। चलाउनै नहुने औषधि, खानै नहुने दाल-चामल तस्करी गरेर भित्रिन्थ्यो।
दाल-चामलमा हतियार लुकाएर ल्याइन्थ्यो। तस्करसँग पैसा खाएर भन्सारले चेक नै नगर्ने प्रवृत्ति थियो। त्यो धेरै हदसम्म रोके सर्वेन्द्रले। 'भन्सारको क्वारेन्टाइनमा दर्जीले कपडा सिलाउँथे। खाद्य-अखाद्य जाँचिदैनथ्यो। खाद्यका अधिकारीले घूस खाएर खानै नमिल्ने खानेकुरालाई खान मिल्ने भनेर सिफारिस गर्थे। नाम चलेका ठूला घरानाको कन्टेनर पनि रोकियो त्यतिखेर। प्रेसर त आउँथ्यो तर छोडेनन्। तस्करहरु टिक्न सकेनन् उनका अगाडि,' शमशेरले त्यतिखेरको अवस्था बताए।
दाइजो प्रथा र बाल विवाह रोक्न पनि प्रहरीले भूमिका खेल्यो। छोरी जन्मे बाबुआमालाई दाइजोको चिन्ता हुन्थ्यो। त्यो पूर्ण रुपमा त हटेन तर कम अवश्य भयो। वीरगञ्ज युवा क्लबका संस्थापक अध्यक्ष कमल चौगाईंको बुझाइमा सर्वेन्द्रले गरेको कामले त्यसपछि आउने प्रहरी अधिकारीहरुलाई काम गर्न उत्प्रेरणा र दबाब भयो।
'खनालले गरेको काम पूर्ण थिएन। तर उनको सक्रियताबाट पछि आउने अधिकृतहरुलाई काम गर्न वातावरण सहज भयो। सर्वेन्द्रले गरेको काम एउटा उदाहरण बन्यो। प्रहरीले चाहे गर्न सक्दो रहेछ भन्ने प्रमाणित भयो। स्थानीय पनि जागरुक भए र प्रहरीलाई दबाब दिन थाले। प्रहरीलाई हेर्ने नजरिया नै परिवर्तन भयो,' चौगाईं भन्छन्।
मध्य तराईका बासिन्दाका लागि खुला सीमा जति फाइदाजनक छ, उत्तिकै चुनौतीपूर्ण पनि। अपराधीले दुवै मुलुकका सीमावर्ती सहर, गाउँलाई 'सेल्टर' बनाउने भएकाले सुरक्षा चुनौती बढ्छ। तराईका भूमिगत संगठनमा क्रियाशील रहेर राजनीतिक माग राख्दै हिंसात्मक गतिविधिमा संलग्न १ दर्जनभन्दा बढी व्यक्ति भारतीय सीमावर्तीमा सेल्टर लिएर बस्ने क्रममा प्रहरी कारबाहीमा मारिएका थिए।
भारतीय समकक्षीसँग सम्बन्ध बनाएर कैयौं फरार अपराधी समात्ने काम एसएसपी खनालले गरे। भारतीय सुरक्षाकर्मीलाई विश्वासमा नलिएसम्म यताको अपराध घटाउन सकिँदैन भन्नेमा उनी स्पष्ट थिए। अपराध घटाउन दुवै देशका सुरक्षा अधिकारीबीच नियमित काउन्टरपार्ट मिटिङ र ओहोरदोहोर गर्ने निश्चित ट्रान्जिट प्वाइन्ट बनाएर वारिपारि गर्नेको अभिलेख तयार गरी सुरक्षा निगरानी बढाएका थिए उनले।
चुरे दोहनले चरम रुप लिइरहेका बेला प्रहरीले हस्तक्षेप सुरु गर्यो। गिटी-बालुवा तस्करी गरेर बाहिर जान रोक्ने पहिलो प्रहरी अधिकारी हुन् खनाल। अर्को जिल्ला लैजान नपाउने तर भारत लैजाने भइरहेको थियो। सयौं ट्रक रोकेपछि गृह मन्त्रालयले निर्णय नै गरेर तस्करी रोकियो। 'एक हिसाबले तहल्का नै मच्चाएका थिए सर्वेन्द्रले। सबै अधिकार थिएन तैपनि जोखिम लिएर साहसका साथ काम गरे,' स्थानीयबासी भन्छन्।
वीरगन्ज, बारा, जनकपुर नक्कली लाइसेन्सका लागि कुख्यात थिए। काठमाडौंमा लाइसेन्स निकाल्न नसक्नेहरु यता आउँथे। यातायातका कर्मचारीसमेत समातिएपछि पैसा खाएर लाइसेन्स बनाउने काम रोकियो। 'आफूले देखेका र गलत लागेका काम कुनै पनि ठाउँमा नियन्त्रण गर्ने प्रयास गरे उनले। कतिपय काम प्रहरीको कार्यक्षेत्रमा पर्दैनथ्यो तर पनि स्थानीयले अपेक्षा गर्थे। वीरगन्ज सधैं डुबानमा पर्थ्यो।
प्रहरीको सक्रियतामा स्थानीय र कर्मचारी परिचालन गरेर ढल खोल्ने कामसमेत भयो। महिला हिंसाको उजुरी प्रहरीले नलिने समस्या थियो। लेनदेन गरेर मिलापत्र गराइन्थ्यो, मुद्दा दर्ता हुँदैनथ्यो। प्रहरी प्रमुख सधैं आलोचित हुने वीरगन्जमा सार्वजनिक सुनुवाइमा खनाल हाइहाइ भए। सर्वेन्द्र आएपछि हामीले न्याय पायौं भन्थे वीरगन्जबासी,' चौगाईं सम्झन्छन्।
वीरगन्जबासीका अनुसार यो क्षेत्रमा काबिल अफिसर आएकै थिएनन्। 'जो आए पनि यहाँका अपराधीहरुसँग मिलेर पैसा खाने रहेछन्। कति आए-गए हामीलाई सम्झना पनि छैन। सर्वेन्द्रले चाहिँ गरेकै हुन्। प्रहरीको कामबाट खुसी भएर बारा-पर्सामा नौ वटा प्रहरी चौकी बनाइदिए स्थानीयले पैसा उठाएर। वीरगन्जमा एक करोड २५ लाखको चौकी बन्यो। बोराले बारेको ठाउँमा बस्थे प्रहरी। मुसा कुदेर हैरान हुन्थ्यो। टहरासमेत थिएन।
भवन उद्घाटन कार्यक्रममा भारतका वाणिज्य दूतले नेपालको प्रहरीसँग भारतीय प्रहरीले सिक्नुपर्छ भनेर सार्वजनिक रुपमा भनिन्। भारतमा पनि सम्मानित भए उनी। पटना जाँदा ब्ल्याक क्याट सुरक्षा र डबल स्कर्टिङ दिएको थियो भारतले,' मियाले भने, 'काम नै सर्वेन्द्रको छोटकरी परिचय हो। अञ्चल प्रहरी कार्यालय भनेको कार्यकारी भूमिका हुने निकाय होइन। तर, त्यस्तो युनिट सम्हाल्दा पनि सर्वेन्द्र सक्रिय रहे।'
आईजीपीबाट अवकाश भएपछि खनालले राजनीतिमा चासो राखे र नेकपा एमालेमा प्रवेश गरे। २०७४ को प्रतिनिधि सभा चुनावमा लड्ने चर्चा चलिरहँदा बारा, पर्सा, धनुषा, सर्लाही, रौतहटका स्थानीय तथा नागरिक अगुवाले 'चुनाव लड्न यहाँ आउनुस्, हामी जिताएर पठाउँछौं' भनेका थिए। तर उनको पार्टी एमालेले काठमाडौं-६ को टिकट दियो।
प्रहरीप्रति जनताको भरोषा बढ्यो
पवन तिवारी
पत्रकार, वीरगन्ज
प्रहरी अधिकारीले गर्ने काम कसैको धेरै कसैको थोरै हुन सक्छ। हामीले त्यसको दिर्घकालीन प्रभाव हेर्ने हो। सर्वेन्द्र खनाल वीरगन्ज आएपछि सबैभन्दा राम्रो पक्ष के भयो भने जनताले प्रहरीलाई पत्याउन थाले, भरोषा गर्न थाले। प्रहरीलाई काम गर्ने वातावरण बन्यो। प्रहरीलाई सहज ढंगले सूचना आउन थाल्यो।
नागरिकले प्रहरीलाई विश्वास गरेर सूचना दिन थाले। त्यो किन भयो भने सर्वेन्द्रले प्रहरीले गर्नुपर्ने काम त गरे नै, सँगसँगै सामाजिक आन्दोलन पनि चलाए। बाल विवाह, बहुविवाह, दाइजो प्रथा, महिला हिंसाविरुद्ध आफैं खटेर चेतना फैलाउने प्रयास गरे। स्रोतसाधन जुटाउन पहल गरे। आफैं गाउँ-गाउँसम्म पुगे। राज्यको त यी विषयमा बजेट नै थिएन।
त्यतिमात्र होइन- सडकमा दिसापिसाब गर्नु हुँदैन, खुला दिसामुक्त हुनुपर्छ भनेर सिकाउँदै हिँडे। अवश्य पनि त्यो पर्याप्त थिएन तर प्रयास त सुरु भयो कमसेकम। त्यो काम प्रहरीले नगरे पनि हुन्थ्यो तर नेपाल लोक कल्याणकारी राज्य भएकोले नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने हरेक कुरामा प्रहरीको पनि कर्तव्य हुन जान्छ। सर्वेन्द्रले सामाजिक दायित्व बुझेर त्यो काम गरे। फुर्सदको समयमा एसीयुक्त अफिसमा बसेर कफी खानुभन्दा गाउँगाउँमा गएर स्थानीयलाई जम्मा गरेर सामाजिक कुरितीबारे बुझाउने प्रयास गरे। प्रहरीले केही गलत गरेको छ भने सिधै मलाई आएर भन्नुस् भनेर स्थानीयलाई उत्प्रेरित गरे।
सही मानेमा प्रहरी-समुदाय साझेदारी भएको थियो त्यसबेला वीरगन्जमा। गाउँगाउँबाट पनि सर्वसाधारणले प्रहरीलाई फोन गर्थे र समस्या सुनाउँथे। सर्वेन्द्रकहाँ सहज पहुँच हुन्थ्यो। अञ्चल प्रहरीको ढोकामा उभिने सुरक्षाकर्मीलाई एसएसपीको स्पष्ट निर्देशन थियो- कोही भेट्न आउँछ भने सिधै ल्याएर भेटाउनु। दिनभरीमा उनले ४००-५०० मान्छे भेट्थे, सबैको गुनासो सुन्थे र तत्काल एक्सन पनि लिन्थे। यस्तो भएपछि नागरिकमा प्रहरीप्रति भरोषा बढ्यो।
वीरगन्जमा हुने सार्वजनिक कार्यक्रमहरुमा एसएसपी नै प्रमुख अतिथि हुन थालेका थिए। कसैको बिहे हुँदैछ भने उ निम्तोपत्र लिएर प्रहरी कार्यालय आउँथ्यो र भन्थ्यो- पाँच मिनेटको लागि भए पनि आइदिनुपर्यो सर, मैले दाइजो लिएको छैन। यस्तो असर छोडे समाजमा सर्वेन्द्रले। मधेशमै राजनीति गरिरहेका दलहरुले त्यहाँका सामाजिक समस्याको बेवास्ता गरिरहेका थिए।
तर पहाडी जिल्ला तनहुँमा जन्मेको एउटा प्रहरी अफिसरले सामाजिक दायित्व बुझ्यो र गाउँ-गाउँ पुग्न थाल्यो। उसको ड्युटी होइन गाउँ-गाउँ जाने। राज्यले उसलाई वीरगन्जमा बसेर पाँच जिल्लाको मनिटरिङ गर्नु भनेर पठाएको हो। उनीभन्दा अगाडि आउने एसएसपीहरु जिल्लाका एसपीहरुलाई आफ्नो विवेकले काम गर्नु भनेर अह्राएर आनन्दले कफी खाएर बस्थे। तर सर्वेन्द्र यो सीमामा खुम्चिएर बसेनन्।
वीरगन्जमा सीमापारिका सुरक्षाकर्मीसँग राम्रो समन्वय हुन सकिरहेको थिएन। यसले गर्दा सीमापार अपराधको ग्राफ बढ्दो क्रममा थियो। उनी आएपछि यसमा ध्यान दिन थाले। यसको परिणाम पनि देखियो। नीतिशकुमारको पार्टी जनता दल युनाइटेडकी संघीय सांसद थिइन् रामादेवी बिहारमा। उनलाई ज्यान मार्ने धम्की आएछ। त्यसपछि उनी मोतिहारीको एसपी विनोद कुमारकहाँ नगएर नेपालका एसएसपी सर्वेन्द्र खनालकहाँ आइन् सुरक्षा माग्न। दुई घण्टा उनी सर्वेन्द्रसँग बसिन् र आश्वस्त भएर गइन्। संयोगले धम्की दिने व्यक्ति समातियो। उनले फेरि आएर नेपाल प्रहरीलाई धन्यवाद दिइन्।
हामीलाई समेत गर्व लाग्ने कुरा- वीरगन्जकी भारतीय कन्सुलर अञ्जु रञ्जनले सार्वजनिक समारोहमा बिहार प्रहरीका अफिसरहरुकै अगाडि भनिन् - नेपाल प्रहरीसँग बिहार प्रहरीले सिक्नुपर्छ। रक्सोलको नागरिक समाजले सर्वेन्द्रलाई अभिनन्दन गर्यो। किन भन्दा बोर्डर क्राइम रोकियो। सर्वेन्द्रको प्रभाव बिहारका दुई जिल्ला पूर्वी र पश्चिम चम्पारणसम्म परेको थियो।
वीरगन्जमा प्रहरीलाई मानिसले भिलेनको रुपमा हेर्थे। सर्वेन्द्र आउँदा यिनी पनि उही ड्याङका त हुन् भन्ने थियो। यो धारणा धेरै हदसम्म परिवर्तन गर्न सफल भए सर्वेन्द्र। समुदायको साथी बन्यो प्रहरी। प्रहरीलाई हिरोको रुपमा स्थापित गराए। वीरगन्जको प्रवेशद्वार शंकराचार्य गेट नजिकै इनर्वा प्रहरी चौकी छ। त्यो चौकीमा बाल्टीमा पैसा उठाइन्थ्यो र बोरामा जम्मा गरिन्थ्यो छोटेमोटे तस्करहरुबाट। प्रहरीले पैसा लिएको जोकसैले देख्थ्यो। सर्वेन्द्र आएपछि त्यो रोकियो।
दुर्भाग्यको कुरा त के छ भने इनर्वा चौकीबाट पैसा उठाएर काठमाडौंमा दर्जनौं महल बने तर इनर्वा चौकी बनेको थिएन। सर्वेन्द्रको पालामा त्यो चौकी बन्यो जनस्तरबाट पैसा उठाएर। ठूला व्यापारी, समाजसेवीहरु धर्मशाला, मठमन्दिर बनाउँथे तर प्रहरीको क्रेज यति बढ्यो कि उनीहरु प्रहरी चौकी बनाउन थाले। प्रहरी राम्रो हुनुपर्छ भनेर उनीहरुले लगानी गरे।
व्यावसायिक वातावरणमा सुधार भयो
गणेश लाठ
पूर्वअध्यक्ष, वीरन्ज उद्योग वाणिज्य संघ
दोस्रो संविधानसभा चुनावताका बारा, पर्सा, रौतहटमा आपराधिक गतिविधि धेरै हुन्थ्यो। त्यहीबेला बारामा एउटा युवा एसपी आएको छ, गजब काम गर्दैछ भन्ने सुन्यौं। अनि हामी व्यापारीहरु वीरगन्जबाट भेट्न गयौं। हुन पनि सर्वेन्द्र खनाल बारामा आउनेबित्तिकै अपराध घटेको थियो।
हामीले उहाँलाई पर्सामा ल्याउन कोसिस गरेका थियौं। तत्काल त्यो सम्भव भएन तर अलि पछि अञ्चल प्रहरीको एसएसपी भएर वीरगन्ज आउनुभयो। व्यवसाय गर्नेमात्रै नभएर सबै तह-तप्काका नागरिकमा उहाँले छाप छोड्ने गरी काम गर्नुभयो। नागरिकसँग प्रहरीको सहकार्य हुन थाल्यो र व्यवसायीदेखि आम नागरिकसम्म जागरुकता बढ्यो। व्यवसाय गर्न सुरक्षित वातावरण पूर्वशर्त नै हो। त्यसका लागि उहाँले अग्रसरता लिनुभयो। त्यहीबेला सीसीटिभी जडानको काम सुरु भयो, अरु थुप्रै काम भए। हामीले नै अग्रसरता लिएर इनर्वा प्रहरी चौकीको भवन बन्यो।
वीरगन्ज भनेको आर्थिक राजधानी हो। यहाँ ३ वटा आर्थिक नाका छन्। ४० प्रतिशतभन्दा बढी आयात यहीँबाट हुन्छ। जहाँ आर्थिक गतिविधि बढी हुन्छ, त्यहाँ अपराध पनि बढी हुन्छ। त्यसैले वीरगन्जमा एसएसपीको नेतृत्व हुनुपर्छ भनेर भन्दै आएका छौं।
जागृत भएको जनकपुर
अमरचन्द्र अनिल रामानन्द युवा क्लबमार्फत जनकपुरमा स्वास्थ्य शिविरहरु चलाउँथे। सामाजिक काम गर्दासमेत उनले थुप्रै सुरक्षा चुनौतीहरु भोग्नुपर्थ्यो। कतिपय अवस्थामा सुरक्षा निकायबाट सहयोगसमेत पाउँदैनथे। २०६६ सालमा जब सर्वेन्द्र खनाल धनुषा जिल्ला प्रहरी प्रमुख भएर जनकपुर पुगे, अनिल उत्साहित भए।
‘जनकपुर समस्याग्रस्त थियो।राति ८ बजेपछि हरेक दिनजसो फायरिङ हुन्थ्यो। भूमिगत आपराधिक समूहहरुको बिगबिगी थियो,’ अनिल सम्झन्छन्, 'भूमिगत समूहले हिंसात्मक गतिविधिलाई बढावा दिन कसै न कसैको हत्या तथा भौतिक कारवाही गर्दै आतंकित बनाएको थियो। साँझ नै जनकपुर सहर बन्द हुन्थ्यो, अघोषित कर्फ्युजस्तो। आज साँझ अब कसको पालो आउने हो, भूमिगत समूहले कसलाई आफ्नो निसाना बनाउने हो भन्ने डर र त्रासका बीच जनकपुरबासी बसिरहेका थिए।'
त्यो भयावह अवस्थालाई निकै हदसम्म शान्त पारे सर्वेन्द्र खनालले। त्यो पनि ६ महिनामै। सुरुमै उनी भूमिगत समूहमाथि जाइलागे। राजनीतिका नाममा हुने आपराधिक गतिविधि निस्तेज पार्न प्रयास थालिहाले। कतिलाई हिरासतमा हाले, कतिपयलाई इन्काउन्टर गरिदिए। लागु औषधको अखडा बनेको जनकपुरमा गाँजा विरोधी अभियान चलाए, दाइजो विरोधी अभियानका लागि अग्रसरता लिए। बाल विवाह रोक्न सडक नाटक देखाइए, कन्सर्ट गरिए।
‘एकाध महिनामै निकै शान्तिपूर्ण बन्यो जनकपुरको वातावरण। ६ महिनामात्र बस्दा पनि हामीले अनुभूति गर्नेगरी काम गर्नुभयो सर्वेन्द्रले। यहीँ रहँदा यूएनमा जाने अवसर आयो। यहाँका एक दर्जनभन्दा बढी संघसंस्था मिलेर उहाँलाई सम्मान गरेर पठायौं। त्यसअघि कुनै पनि प्रहरी अधिकारीलाई त्यति बृहत् स्तरमा सम्मान गरिएको थिएन,’ अनिल भन्छन्। अहिले पनि सर्वेन्द्र हरेक वर्षजस्तो विवाह पञ्चमीमा जानकी मन्दिर पुग्छन् अतिथि बनेर।
जानकी मन्दिर क्षेत्र सुधारको काम पनि त्यसैबेला सुरु भयो। मन्दिर क्षेत्र फोहोरले कुरुप थियो। मन्दिर आसपास डेढ सयभन्दा बढी स्थायी किसिमका अवैध टहरा थिए। प्रहरीकै सक्रियतामा ती सफाचट पारिए। मन्दिरको जग्गा अतिक्रमण रोकियो। सार्वजनिक, गुठीको जग्गा हडप्नेहरु पनि तह लागे। ‘कोही पनि कामै गर्न चाहँदैनथे। भू–माफियासँग डराउँथे प्रहरी अधिकारी पनि। जागिरको माया हुन्थ्यो सायद। सर्वेन्द्रले हिम्मत गरे। प्रहरीको काम थिएन त्यो, तैपनि गरे। प्रहरीले चाहे गर्न सक्दो रहेछ भन्ने थाहा भयो हामीलाई पनि,’ अनिल भन्छन्।
त्यसअघि आउने प्रहरी अधिकारीहरुले स्थानीयको कुरा खासै नसुनेको अनुभव छ अनिलसँग। भन्छन्, ‘लामो समय बसेका एसपीलाई पनि सम्झिँदैनन् यहाँका स्थानीयले। तर ६ महिनामात्र बसेका सर्वेन्द्रलाई सम्झिन्छन्। किनकि उनले काम गरेर देखाए। स्थानीयको कुरा सुने। जनकपुरबासीसँग ट्युनिङ मिल्यो उनको। काम गर्ने एसपी भनेर अहिले पनि यहाँ सर्वेन्द्रको चर्चा हुन्छ।’
कमाण्डर राम्रो भयो भने छोटो समयमा पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण हुन् सर्वेन्द्र। ‘यसको दिर्घकालिन प्रभाव के पर्यो भने पछि आउनेहरुलाई प्रेसर भयो राम्रो काम गर्न। स्थानीयले पनि झकझक्याइरहे। कसैले चाहेर पनि नराम्रो काम हुन पाएन,’ अनिलको बुझाइ छ। ८ चैत २०६६ देखि ४ असोज २०६७ सम्म धनुषा प्रहरीको नेतृत्व गरेका खनाल आईजीपीको सामर्थ्य राख्छन् भन्ने त्यतिखेरै लख काटेका थिए अनिलले। हुन पनि उनले जनकपुरमा अत्यन्तै बिग्रिएको शान्ति व्यवस्थालाई सम्हालेर एउटा बाटोमा मात्रै ल्याएनन्, जनताको भरोसासमेत जित्न सफल भए।
भूमिगत समूहका अर्जुन सिंह भनिने मुकेश चौधरी र जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति समूहलगायतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियालाई गोली हानी हत्या गरेपछि त्यहाँ सुरक्षाको स्थिति निकै बिग्रेको थियो। तत्कालीन सभासद सञ्जय साहले एसपी श्याम खड्कामाथि हातपात गरेपछि स्थिति तनावग्रस्त भएको थियो। धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्की, एसपी खड्का र सशत्र प्रहरी प्रमुखलाई सरुवा गरिएको थियो। त्यसपछि आएका थिए सर्वेन्द्र खनाल। उनले तत्काल स्थितिलाई आफ्नो नियन्त्रणमा लिइहाले। जनकपुरमा उनको कार्यकाल अत्यन्तै छोटो रहे पनि उनले गरेका कामका कारण आजसम्म पनि उनकै उदाहरण दिने गरिन्छ।
आउनासाथ एक्सन
खनाल एसपी भएर जनकपुर आउँदा भूमिगत समूहहरूको हिंसात्मक गतिविधि बढ्दो थियो। हत्यादेखि लिएर बम विष्फोट, चन्दा आतंक र फिरौतीका लागि व्यक्ति अपहरण गर्ने घटनामा कमी आउन सकेको थिएन। सर्वसाधारण, व्यवसायी र कर्मचारीसम्मले असुरक्षित महसुस गरिरहेका थिए। उनी आएलगत्तै भूमिगत समूहका कुख्यात अपराधीमाथि प्रहरीको एक्सन तीव्र बन्यो। २१ जेठ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका महोत्तरी जिल्ला इञ्चार्ज बादल भनिने नुरुल मोहम्मद सुरक्षा कारवाहीमा मारिए।
जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहले हिंसात्मक गतिविधिलाई बढावा दिन कसै न कसैको हत्या तथा भौतिक कारवाही गर्दै आतंकित बनाएको थियो। त्यसक्रममा घटेका हिंसात्मक घटनाको जिम्मेवारी समूहका कार्यवाहक अध्यक्ष मनोज मुक्तिले लिने गरेका थिए। उक्त भूमिगत समूहले लगातार तीन दिन तीन जनालाई गोली प्रहार गरेपछि खनालले एक्सन लिए। ३० जेठ २०६७ मा धनुषा प्रहरीले समूहका डेपुटी कमाण्डर अवधेश मण्डलको इन्काउन्टर गर्यो। प्रहरीको गस्ती टोलीमाथि हतियार तेर्स्याएपछि प्रहरीले जवाफी फायर गरेको थियो।
खनालले त्यसपछि झनै सक्रियता बढाएर आपराधिक गतिविधिमा लागेकाहरूलाई कारवाहीको दायरामा ल्याउन थाले। १९ असार २०६७ मा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य बम भोला यादव भनिने प्रदीप मरिक सुरक्षा कारवाहीमा मारिए। त्यसपछि प्रहरी हिरासतबाट भाग्न खोज्ने अर्को भूमिगत समूहका मदन यादवको इन्कान्टर भयो। गोइत समूहका प्रभावशाली सदस्य अमिताभ भनिने उदय यादवलाई हतियारसहित प्रहरीले समात्यो। 'खनाल आएपछि धनुषामा आपराधिक गतिविधिमा लाग्नेहरूको सातो गएको थियो,' अनिल टिप्पणी गर्छन्।
धनुषामा रहँदा खनालले अवैध मदिरा उत्पादन गर्ने कारखाना ध्वस्त पारी त्यस्तो कारोबारमा संलग्नलाई कारवारी गरेको सम्झन्छन् त्यहाँका अगुवा महिला। क्याबिन रेस्टुरेन्टमा हुने अनैतिक गतिविधि पनि उनले नियन्त्रण गरेका थिए। यस्तो कुरामा त्यसअघिका प्रहरी अधिकारीको ध्यान गएको थिएन।
आफ्नै डीएसपीलाई कारवाही
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन डीएसपी रूपकुमार न्यौपानेलाई एसपी खनालले विभागीय कारवाही गरे। कारण- डीएसपी नै भूमिगत समूहसँग साँठगाँठ गर्ने रहेछन्। धनुषाका तत्कालीन एलडीओ (स्थानीय विकास अधिकारी) सँग आपराधिक समूहले ३० लाख मागेछ। उनी प्रहरीकहाँ गए। डीएसपीले उल्टै '३० नभए पनि २० लाख दिनुस् न त' भनेछन्।
यो कुरा थाहा पाएपछि एसपी खनालले डीएसपी न्यौपानेलाई कारबाही गराउन प्रमाणसहित प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा फाइल पठाए। सुरुमा न्यौपानेलाई निलम्बन गरियो र लगत्तै डीएसपीबाट इन्सपेक्टरमा घटुवा गरिएको थियो। डीएसपी घटुवा भएर इन्स्पेक्टर भएको त्यो पहिलोपटक थियो।