काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनको भागबण्डाबाट प्राप्त भएको १० सिटका लागि उम्मेदवार छनोट गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन्। सत्ता गठबन्धनबाट प्राप्त १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापन इतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो।
नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका लागि कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मधेसमा केन्द्रीय सदस्य आनन्द ढुंगाना, बागमतीमा नेपाल महिला संघकी अध्यक्ष विष्णुदेवी पुडासैनी र पार्टीका केन्द्रीय सदस्य जितजंग बस्नेत, गण्डकीमा प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ र अपांग तथा अल्पसंख्यकबाट नेता पदमबहादुर परियार उम्मेदवार भएका छन्। लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई, कर्णालीमा प्रदेश महामन्त्री कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा जिल्ला सभापति नारायणदत्त भट्ट र पूर्वसभापति बलदेव बोहरालाई उम्मेदवार बनाइएको छ।
नेपाली कांग्रेसको विधान २०१७ (दशौं संशोधन ०७८/०७९) को धारा ३२ (उम्मेदवारको सिफारिस, निर्णय र अनुमोदन सम्बन्धी व्यवस्था)को उपधारा ९ मा राष्ट्रिय सभा सदस्य उम्मेदवारबारे उल्लख छ। जसमा प्रदेशबाट प्राप्त नामहरुमा केन्द्रीय संसदीय समितिले सहमति हुन सकेमा सहमति र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरी सम्बन्धित उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाइएको हो।
तर, नेपाली कांग्रेसमा सभापतिपछिको शक्तिशाली पदमा रहेका महामन्त्रीद्वय थापा र शर्माले उम्मेदवार छनोटमा लिखित तथा मौखिक असहमति जनाएका छन्। महामन्त्री गगनकुमार थापाले 'उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको' भन्दै २ बुँदे लिखित असहमति जनाएका छन्। तर, अर्का महामन्त्री शर्माले शेखर समूहलाई कटाक्ष गर्दै 'फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने? भनेर पनि प्रश्न गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माको असन्तुष्टि पूर्वमहामन्त्री सिटौलाको उम्मेदवारीको विषयमा बढी देखिन्छ। शेखर-गगन समूहका नेता डा. शेखर कोइरालाले भने शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका र योगदानका आधारमा सिटौलालाई उम्मेदवार बनाइएको बताएका छन्। विराटनगरमा गठबन्धन दलको कार्यक्रममा बोल्दै उनले भने, 'उहाँ (सिटौला)लाई राष्ट्रिय सभा अध्यक्ष बनाउन हामीले उम्मेदवार बनाएका हौं। उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका, उहाँको योगदानको इतिहास हेरेर हामी सहमत भयौं।'
सामाजिक सञ्जालमा स्टाटस लेख्दै इतर समूहका नेता डा. कोइरालाले थप भनेका छन्, 'राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन। कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सूची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन। तर पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ।'
संस्थापन पक्षका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महामन्त्रीद्वयले अपरिपक्वता प्रदर्शन गरेको टिप्पणी गरे। उनले भने, 'महान्त्रीद्वय संसदीय बोर्ड र कार्यसम्पादन दुवैमा हुनुहुन्छ। तर, उहाँहरुले सुरुमा आफूले भाग पाउनुपर्ने भनेर लबिङ गर्नुभयो। त्यो नभएपछि बहुमतले गरेको निर्णय गलत छ भन्दै हिँड्नुको कुनै अर्थ छैन। निर्वाचनको मुखमा दुई महामन्त्रीले यसरी अपरिपक्वता देखाएर पार्टीलाई कमजोर बनाउने गतिविधिमा उहाँहरु लाग्नुभएको छ।'
यसअघि सत्ता गठबन्धनले प्राप्त गरेको १० सिटमा आफूहरुलाई ४० प्रतिशत चाहिने भन्दै अलग्गै गुटको भेला भएको थियो। जसमा तीन शेखर कोइराला र एक महामन्त्रीलाई भाग लगाउने अनौपचारिक सहमति भएको सोही समूहका एक नेताले जानकारी दिएका थिए। समूहको अनौपचारिक निर्णयमा अडान राखेपछि रातभर सहमति हुन सकेको थिएन। तर, संस्थापन इतर समूहले तीन वटा मात्रै उम्मेदवार प्राप्त गरेको थियो।
पार्टीमा असहमति राख्न पाइँदैन, नेतृत्वले जे गरे पनि ठिक हुन्छ भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै प्रदेश सभा सदस्यसमेत रहेका काफ्लेले भने, 'महामन्त्रीद्वय पार्टी बन्ने र विधिमा चलाउने भन्दा पनि आफू बन्ने र आफ्ना मानिसलाई भाग दिलाउने कसरतमा लागेको उहाँहरुका गतिविधिबाट देखिन्छ। तर, बहुमतले उहाँहरुको विषयलाई अस्वीकार गरिसकेको छ। अब मैले भनेको सबै ठिक थियो र बहुमतले सही निर्णय गर्नै सकेन, म मात्रै ठिको हो र अरु गलत हुन् भन्ने आशयको असन्तुष्टिको कुनै अर्थ छैन। यसले पार्टी बलियो बन्दैन।'
गगन निकटका नेता शंकर तिवारीले भने महामन्त्रीद्वय थापा र शर्मा पार्टीको गलत निर्णयविरुद्ध एक ठाउँमा उभिएको बताए। उनले भने, 'पार्टीमा विश्वप्रकाश समूहको उपस्थिति निकै कमजोर रहेकोले लिखित असहमति जनाउन नसकेको हुन सक्छ, तर, महामन्त्री थापा समूहको उपस्थिति बलियो भएकोले लिखित असहमति जनाउनु भएको हो। समग्रमा पार्टीले गर्ने गलत निर्णयविरुद्ध उहाँहरु एक ठाउँमा आउनुभएको छ। सम्भवत: आगामी दिनमा उहाँहरुले संयुक्त रुपमा पार्टीलाई बलियो बनाउन वक्तव्य निकाल्नुहुन्छ।'
राजनीतिक विश्लेषकसमेत रहेका तिवारीले थपे, 'पार्टीमा यो भागबण्डाको राजनीति विगतदेखि नै चलिरहेको छ। तर, यसमा पनि योग्य र सक्षम व्यक्तिलाई दिनुपर्छ भन्ने उहाँहरुको माग हो। संयुक्त रुपमा बैठकमा नै उहाँहरुले लिखित असहमति जनाउनु भएको भए झन् अर्थपूर्ण हुने थियो।'
त्यसैगरी नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि कांग्रेसको निर्णयमा ५ बुँदे फरक मत पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएका छन्। दुवै नेताले भौगोलिक तथा जातीय सन्तुलनमा ख्याल नगरिएको, संसदीय क्षेत्रमा योगदान दिन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म अवसर नपाएकालाई अवसर दिने भन्ने व्यवस्थालाई पार्टी नेतृत्वले ठाडो उल्लंघन गरेको जनाएका छन्।
त्यसैगरी शेखर समूहका नेता तथा बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले राष्ट्रिय सभामा असफल मानिसलाई ल्याउने प्रतिस्पर्धा भएको र भाग नपाएकाहरुले असन्तुष्टि जनाएको टिप्पणी गरेका छन्। उनले भने, 'पार्टीलाई विधि र विधान अनुसार चलाउने भनेर बहस भएको जस्तो लाग्दैन। रातभर नै आफूले कति भाग पाउने भन्ने विषयमा नै चर्चा भयो र अन्तमा बहुमतको निर्णय हुँदा भाग नपाएकाहरुले असन्तुष्टि जनाए। यस्ता गतिविधिले पार्टीलाई थप कमजोर बनाउने काम हुन्छ। यस्ता अपरिपक्व गतिविधिहरु सभापतिदेखि महामन्त्री र टिकट वितरणमा सहभागी सबैको देखिन्छ।'