शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैतडीका सभापति चन्द भन्छन् - राष्ट्रियसभामा 'असफल' मानिसहरुलाई ल्याउन प्रतिस्पर्धा भयो

कांग्रेस बैतडीका सभापति चन्द भन्छन् - राष्ट्रियसभामा 'असफल' मानिसहरुलाई ल्याउन प्रतिस्पर्धा भयो

पछिल्लो समय राष्ट्रिय सभालाई निकम्माहरुको भेला हुने ठाउँ बनाइयो।
 |  सोमबार, पुस २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

vianetvianet

नेपाली क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति पनि हुन्। राष्ट्रिय सभा निर्वाचन र नेपाली कांग्रेसका उम्मेदवार उठाउने निर्णयलगायत विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :  

कांग्रेसले राष्ट्रिय सभाका १९ सिटका लागि पनि योग्य उम्मेदवार नपाएर १० सिटमा मात्रै उम्मेदवार उठाएको हो?
कांग्रेस अहिले देशको सबैभन्दा ठूलो र लामो इतिहास बोकेको पार्टी। कांग्रेसमा एक से एक योग्य नेताहरु हुनुहुन्छ। तर, अहिले गठबन्धनमा रहेको छ, एक्लै जित्‍न सकिने अवस्था कम छ। त्यसकारण १० वटा सिटमा उम्मेदवार उठाएको हो। तर, ठूलो पार्टीको हैसियतमा रहेकोले अझै बढी सिट लिनुपर्थ्यो, यस विषयमा नेतृत्व असफल भयो। जिल्ला सभापतिको हिसाबले हेर्दा यो लम्पसार परेर १० भए हुन्छ हजुर भनेको जस्तो देखिएको छ।

सत्तापक्ष र प्रतिपक्षको नै गठबन्धन गर्ने कुरा थियो, यसलाई कसरी लिनुहुन्छ?
एउटा गठबन्धन भइसकेपछि प्रमुख प्रतिपक्षीलाई पनि भाग दिने कुरा त समयसापेक्ष होइन। केन्द्रीय नेताहरुको कमीकमजोरी ढाकछोप गर्नका लागि यो कुरा आएको हुन सक्छ। सत्तापक्षले मनोमानी नगरोस् भन्‍नका लागि बलियो प्रतिपक्ष चाहिन्छ। प्रतिपक्ष पनि सत्ता पक्षसँगै भाग माग्‍न जान्छ भने त्यहाँ दुवै पक्षको स्वार्थ रहेको देखिन्छ। फेरि कुन स्वार्थ मिलेन र अलग-अलग चुनाव लड्ने स्थिति बनेको छ। राष्ट्रिय सभा पनि सत्ता पक्ष चाहियो र प्रतिपक्ष चाहिन्छ।

राष्ट्रिय सभालाई नेताहरुको व्यवस्थापन गर्ने थलो बनाउन थालियो भनेर व्यापक आलोचना भइरहेको समयमा तपाईंको पार्टीले पनि आशा जगाउने गरी उम्मेदवार बनाउन सकेन नि?
पछिल्लो समय राष्ट्रिय सभालाई निकम्माहरुको जमात भेला हुने ठाउँ बनाइयो। यसमा हाम्रा दलका मुख्य नेताहरुकै कमजोरी देख्छु। अब सबै दलले बनाएका उम्मेदवारहरुको अनुहार हेर्दा पनि नयाँपन र आशा जगाउने किसिमको कुनै उत्साह देखिँदैन। बाहिर र विकसित मुलुकहरुमा राष्ट्रिय सभालाई बौद्धिक व्यक्तिहरुलाई बोलाएर राष्ट्रिय चासोका विषयका कानुन निर्माण गर्ने र बहस छलफल गर्ने गरिन्छ। भारतमा सचिन तेन्दुलकरलाई बोलाएर उपर हाउसको सदस्य बनाइएको थियो। हाम्रो त नेताको वरीपरी बसेर चाकरी गर्ने र आर्शीवाद लिनेहरुलाई नै अघि सारेको देखिन्छ।

हाम्रो पार्टीमा पनि नीति, विधि, पद्धती र योगदान भन्दा पनि आफू निकटका व्यक्तिहरु छानेर पठाइनु दु:खद छ। यसमा कसैले असहमति राखे पनि त्यो आफ्नो मान्छेले पाएन भन्‍ने गुनासोबाहेक केही होइन। अहिले हाम्रो पार्टी सभापतिले सकेसम्म आफ्ना मान्छेलाई गर्नुभयो र यता शेखर डा. साबले पनि आफ्ना मान्छेलाई मात्रै हेर्नुभयो। अब त्यसबाहेक भाग नपाएकाहरुले असहमति, असन्तुष्टि र गुनासो गरिरहेका छन्। त्यसकारण सबैको ध्यान यो विधि र योगदानभन्दा पनि आफ्नो भजन कसले बढी गाउनसक्छ, त्यसलाई गर्नेमै केन्द्रित रह्यो। यो प्रवृत्ति ठिक भएन। राष्ट्रिय सभाको गरीमा बढाउने मानिसलाई पठाउनुपर्छ।

केन्द्रमा भागबण्डा एकातिर छ भने अर्कोतिर केन्द्र, प्रदेश र जिल्लाबीच नै त्रिकोणात्मक द्वन्द्व देखिन्छ, निर्देशन नमान्‍ने, मनोमानी गर्नेलगायतका विषयमा दोषी को?
यसका लागि पहिलो कुरा केन्द्रले नै पार्टी विधि-विधानमा चलेको कुरा तल्लो तहका कार्यकर्ताहरुमा विश्‍वास दिलाउन सक्नुपर्छ। पार्टीको केन्द्र नै भद्रगोल छ भने हामी तल्लो तहका कार्यकर्ताले मात्रै निर्देशन मान्‍ने किन बाध्यकारी भन्‍ने आउनसक्छ। अस्ती पनि हेरिहाल्‍नुभयो- केन्द्रीले बढीमा ३ जना सिफारिस गर्न भनिएको थियो- केन्द्रमा एक हजारभन्दा बढी नाम सिफारिस भएर आए- राष्ट्रिय सभामा। अब केन्द्रले कसलाई टिकट दिन्छ भन्‍ने त लगभग सिफारिस भएर आउनुअघि नै बाहिर आइसकेको थियो।

हो यस्तै प्रवृत्तिले पार्टी कमजोर बनिरहेको छ। अरुलाई अनुशासनमा राख्‍न र विधि-विधानमा चल भन्‍नका लागि आफू सही हुनुपर्‍यो। त्यसकारण पहिलो कुरा केन्द्रीय नेतृत्व; सभापति-महामन्त्रीदेखि पार्टीको केन्द्रीय समितिले विधि र अनुशासनको पूर्ण पालना गर्नुपर्‍यो र तल्लो तहमा पनि हामीले यो गरेका छौं, यो निर्देशन पालना गर्नुस् भनेर परिपत्र गर्नुपर्‍यो। हाम्रो त के छ भने अनुशासनको कारबाही गरेर पठायो, फेरि माथि केन्द्रले आफू निकटको मान्छेलाई कारबाही फुकुवा गरिदियो। अनि कसरी पार्टी अनुशासित हुन्छ? केन्द्र सुध्रिन जरुरी छ। जिल्ला बिग्रेको होइन, जिल्ला बिगार्ने कुरा पार्टी केन्द्रले गरेको छ। जिल्ला बिग्रिनु भनेको पार्टी कमजोर हुनु हो, यो कुरा केन्द्रका नेताहरुले बुझ्‍न जरुरी छ।


टिकट वितरणमा हुने सदाको किचलो कहिले अन्त्य हुन्छ?
नेपाली कांग्रेस पुरानो पार्टी धेरै आकांक्षी हुनु स्वाभाविक हुन सक्ला। तर, सधैं पुराना र पटक-पटक अवसर पाएर पनि क्षमता प्रदर्शन गर्न नसकेका 'असफल' मानिसहरुलाई ल्याउनका लागि जुन प्रतिस्पर्धा भइरहेको छ। यसको म चर्को विरोध गर्छु, यसमा विमति छ। टिकट वितरणको किचलो अन्त्य गर्नका लागि त पार्टीको नेतृत्वले गुटभन्दा माथि उठेर सिंगो संगठनको भावनालाई सम्मान गर्न नसकेसम्म अन्त्य हुन सक्दैन। विगतदेखि नै यही समस्या छ। अहिलेका युवा भनिएका नेताहरु पनि भागबण्डाकै आशमा बसेको देख्‍दा नयाँ पुस्तामा थप निराशा बढेको छ। अवैज्ञानिक र मनोमानी ढंगबाट टिकट वितरण गर्ने समस्या अन्त्य गर्नका लागि योगदान, क्षमता र नयाँ पुस्तालाई अवसर दिएर अघि सार्नुपर्नेमा पार्टी केन्द्रीय समिति नै उल्टो बाटोमा देखिन्छ।

प्रकाशित: Jan 08, 2024| 14:23 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्