काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा आशा जगाउन नसके राजीनामा दिने बताएका छन्। आफ्नो एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसकेको अवस्थामा राजीनामा दिने बताएका हुन्।
उनले भने, 'कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।'
उनले आफूलाई असफल हुने छुट नभएकोसमेत बताएका छन्। उनले थपे, 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ।'
प्रधानमन्त्री प्रचण्डले उनले यो देश बनाउने प्रतिबद्धता व्यक्त गर्दै नयाँ इतिहा लेख्न बाँकी रहेको बताएका छन्। भने, 'आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर म एकपटक राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध छु। त्यसमा म समस्त देशबासीको साथ र सहयोग चाहन्छु। हामी मिलेर यो देश बनाउन सक्छौँ र बनाउँछौँ। यो प्राचीन देशले आफ्नो इतिहासको नयाँ र शानदार अध्याय लेख्नै बाँकी छ, जुन हामी मिलेर लेख्नेछौँ।'
२०७४ मंसिरमा भएको आमनिर्वाचनमा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको समर्थनमा २०७४ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पछि नेपाली कांग्रेसले पनि समर्थन गरेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। हाल प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमत पार्टीको समर्थनको सरकारको नेतृत्व गरिरहेका छन्।