मंगलबार, पुस १, २०८२

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : देउवा

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

दमौली- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।

National life

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए। देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताएका छन्। उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ।’ सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे। 

उनले भने, ‘संविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ।’

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए। देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए। 

तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो। त्यो एकता अझै आवश्यक छ।’

Laxmi sunrise bank
kumari

यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए। नेपाली कांग्रेस तनहुँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन्।

पूर्वमहामन्त्री डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतको सहभागिता छ। चन्दादाताबाट रकम संकलन गरी भवन निर्माण गरिएको हो। करिब रु दुई करोड लागतमा भवन निर्माण गरिएको जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिए। 

आठ आना क्षेत्रफलमा फैलिएको भवन चारतलाको छ। सो अवसरमा सभापति देउवाले भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान पनि गरेका छन्।

प्रकाशित: Dec 25, 2023| 15:38 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्