सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • किसुनजीसँग पूर्णबहादुरको साक्षात्कार : देउवालाई गाडीमा राखेर सिंहदरबार छोड्नुभयो 

कृष्णप्रसाद भट्टराईको १००औं जन्मजयन्ती

किसुनजीसँग पूर्णबहादुरको साक्षात्कार : देउवालाई गाडीमा राखेर सिंहदरबार छोड्नुभयो 

कृष्णप्रसाद भट्टराईले पार्टी विभाजन हुनबाट रोकेपछि गणेशमान सिंहले भने - काले बाहुनले धोका दियो। 
 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १०० औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेमा विमर्श सभाको आयोजना गर्‍यो। विमर्श सभामा सभापति, उपसभापतिहरु, सहमहामन्त्रीलगायतले कृष्णप्रसाद भट्टराईसँगका आफ्ना सम्झनाहरु स्मरण गरे। विमर्श सभामा प्राज्ञ निलम्बर आचार्य र सिके लालले पूर्वप्रधानमन्त्री भट्टराईका विविध पाटा र अहिलेको राजनीतिज्ञले सिक्नुपर्ने विषयमा विमर्श गरे। 

National life

प्रधानमन्त्रीका रूपमा उनी बालुवाटार पस्दा सुराही, ट्यांका र छाता साथमा थियो, बाहिरिँदा पनि यी तीनै वस्तु मात्र। यही उदाहरण दिँदै नेताहरु र प्राज्ञद्वयले कृष्णप्रसाद भट्टराईबाट आदर्शको राजनीति सिक्नुपर्ने र इमान्दारिताका साथ जनताको सेवामा समर्पित हुनुपर्ने निष्कर्ष निकाले। पार्टी सभापति शेरबहादुर देउवाले हँसिलो मिजास, ठट्यौलो पारा र बाँचुञ्‍जेल नछुटेको पानको शौक- आफ्ना नजिकका मानिसहरुले किशुनजी भनेर पुकार्ने नेता कृष्णप्रसाद भट्टराईका यी गुणबारे चर्चा गरे। उनले भने, 'किसुनजीसँग मेरो पहिलो भेट नख्खु जेलमा भएको हो। उहाँको सेन्स अफ ह्युमर निकै राम्रो थियो।' 

किसुनजी दोस्रोचोटि प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली कांग्रेसका ६९ जना सांसदले अविश्वासको प्रस्ताव राखेका थिए। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै प्रधानमन्त्री भट्टराईले पन्ध्र मिनेट लामो भावुक सम्बोधन गर्दै भनेका थिए, ‘सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो अन्तिम सम्बोधन हुनेछ।’ अविश्वास प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा विघटनतिर नलागी उनले खुसीसाथ पद छोडेका थिए। 

यही प्रसंगमा थप्‍दै पार्टी उपसभापति पूर्णबहादुर खड्काले किसुजीसँग आफ्नो निकटता र आर्शीवाद अझै रहेको बताए। उनले नेपाली कांग्रेस र मुलुक अप्ठ्यारोमा पर्दा किसुनजीसँग आफ्नो साक्षात्कार हुने गरेको पनि बताए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक संसद् विघटन गरेपछि मुलुक संक्रमणकालीन अवस्थामा फसेको थियो। राजनीतिक दलहरु विभाजित भएका थिए। संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो। 

उपसभापति खड्काले सुनाए, 'संसद् विघटनको मुद्दामा परमादेश आउनुभन्दा दुई दिनअघि किसुनजीसँग मेरो साक्षात्कार भयो। उहाँ आफ्नो गाडीमा बाँडेगाउँबाट अहिले म बसिरहेको ठाउँमा आउनुभयो। मलाई बोलाएर गाडीमा राख्‍नुभयो र बूढानिलकण्ठ पुर्‍याउनुभयो। बूढानिलकण्ठ पुगेपछि उहाँले अहिलेको पार्टी सभापतिलाई ;शेरबहादुरजी, शेरबहादुरजी' भनेर बोलाउनुभयो। सभापतिज्यू बाहिर निस्किनु भएपछि उहाँलाई अघिल्तिरको सिटमा राख्‍नुभयो र मलाई पछाडि बस्‍न भन्‍नुभयो। त्यसपछि गाडी सिधैं सिंहदरबार ल्याउनुभयो। अनि सभापतिज्यू र मलाई सिंहदरबार भित्र जान आदेश दिँदै आफू बिदा हुनुभयो।' 

kumari

त्यसको दुई दिनपछि सर्वोच्च अदालतले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्‍न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। उनले थपे, 'मैले भन्‍न खोजेको के हो भने पार्टी र मुलुक संकटमा पर्दा पनि माथिबाट पनि उहाँले हामीलाई मार्गदर्शन गरिरहनुभएको छ।' 

उनले कृष्णप्रसाद भट्टराई भट्ट्रराई देश र जनताका लागि अविचलित भएर लडेको व्यक्ति भएको बताएका छन्। उनले थपे, 'एक वर्षभन्दा कम समयमा संविधान निर्माण गरेर संसारलाई नै चकित पार्ने खालको नेतृत्व उहाँमा थियो। किसुनजीको दिक्षामा हुर्किन पाएको भाग्यमानी कार्यकर्ता हुँ। चुनाव हारको कारण थाहा हुँदा पनि उहाँले कसैलाई आरोपित गर्नुभएन।'

अपमान सहेर भए पनि पार्टी विभाजन नगरेको पनि उपसभापति खड्काले स्मरण गरे। भने, 'पार्टीमा विभाजन आउने स्थिति हुँदा पनि पार्टी विभाजन गर्नुभएन। त्यसपछि गणेशमान सिंहलाई हामी भेट्न जाँदा भनेको सम्झन्छु - 'काले बाहुन' (किसुजनीलाई बोलाउने नाम) ले धोका दियो।' 

पार्टीका सभापति देउवाले कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सके प्रजातन्त्र थप सुदृढ हुने बताए। भने,  'उहाँ निर्लोभी, कुनै पनि बदनामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो। उहाँले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सके प्रजातन्त्र थप सुदृढ गर्न सकिनेछ।' नेता भट्टराईका विषयमा थप खोजी हुनुपर्ने र पुस्तक लेखिनुपर्ने देउवाको भनाइ थियो।

पार्टीका अर्का उपसभापति धनराज गुरुङले कृष्णप्रसाद भट्टराईको आदर्शमा हिँड्न त्यति सहज नभएको बताए। उनले भने, 'कृष्णप्रसाद भट्टराईको आदर्शको मार्गमा हिँड्ने प्रेरणा मिलोस्। त्यति सहज छैन।' त्यसैगरी पार्टीका सहमहामन्त्री डिना उपाध्यायले कृष्णप्रसाद भट्टराईको राजनीतिक आदर्शलाई मार्गदर्शन बनाएर हिँड्ने कांग्रेसजनले मात्रै पार्टी र मुलुकको पक्षमा काम गर्नसक्ने बताएकी छन्। 

प्रकाशित: Dec 24, 2023| 18:20 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्