काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कुशल र आदर्श राजनीतिज्ञ हुनुका साथै निकै राम्रो 'सेन्स अफ ह्युमर' भएको व्यक्ति भएको स्मरण गरेका छन्।
कृष्णप्रसाद भट्टराईको १००औं जन्मजयन्तीको अवसरमा पार्टी मुख्यालय सानेपामा आयोजित विमर्श सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले आफूले पहिलो पटक कृष्णप्रसाद भट्टराईलाई नख्खु जेलमा भेटेको पनि स्मरण गरेका छन्।
उनले भने, 'मैले पहिलो पटक किसुनजीलाई नख्खु जेलमा भेटेको। उहाँ निकै राम्रो सेन्स अफ ह्युमर भएको मानिस हुनुहुन्थ्यो।' भट्टराई नेपाली राजनीतिमा एक आदर्शवान राजनीतिज्ञ भएको पनि बताएका छन्।
उनले थपे, 'कृष्णप्रसाद भट्टराई निर्लोभी मानिस हो। गिरिजाप्रसाद, रामनारायण मिश्रलाई छोडेपछि मलाई पनि नख्खु जेलमा लग्दा पहिलो पटक भेट भएको थियो। किसुनजी जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै हरेस नखाएको र सच्चा मानेमा त्यागी व्यक्ति हो।'
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा जारी भएको २०४७ सालको संविधानलाई त्यस समय संसारकै उत्कृष्ण संविधान मानिएको उल्लेख गर्दै थपे, 'त्यो संविधानमा राजतन्त्रसहितको प्रजातन्त्र भए पनि जनतलाई सार्वभौमसत्ता सम्पन्न बनाइएको थियो।'
सभापति देउवाले अहिले गणतन्त्रलाई कमजोर बनाउने गतिविधिहरु भइरहेको उल्लेख गर्दै थपे, 'अहिले गणतन्त्रको विरोधमा कुराहरु सुनिन्छन्। त्यस्ता गणतन्त्रका विरुद्ध लाग्नेहरुलाई परास्त गर्न हामी सबै एकताबद्ध हुन आवश्यक छ। इतिहास भइसकेको कुरा फेरि फर्केर आउनेवाला छैन। गणतन्त्र र लोकतन्त्रका पक्षमा हामी सबै एकजुट हुनुपर्दछ।'