शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीलाई रुपान्तरण गर्न नसके मुलुकको परिवर्तनको रक्षा हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

माओवादीलाई रुपान्तरण गर्न नसके मुलुकको परिवर्तनको रक्षा हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं-  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रूपान्तरण र गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन्।

National life

शनिबार काठमाडौंमा पार्टीको बूढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापित भएको जिकिर गरे। पार्टी रूपान्तरण र गतिशील बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने उनको भनाइ थियो।

माओवादीलाई बलियो बनाए मात्र मुलुकको परिवर्तनको रक्षा हुन सक्ने उनले बताए। आउँदो फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगले विचार संश्लेषण गरिने उनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपुर्जा वितरणको तयारी भइरहेको बताए। आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरिएको भन्दै उनले तेस्रो कार्यकालमा सिंगो देश उज्यालो बनाउने गरी योजना बनाइएको उल्लेख गरे। माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जस अरूले लिएको जिकिर उनले गरे।

'दोस्रो प्रधानमन्त्रीत्त्वकालमा लोडसेडिङ अन्त्य। मैले जनार्दन (शर्मा)लाई ऊर्जामन्त्री बनाएपछि, कुलमान (घिसिङ)लाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो। उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो,' उनले भने, 'तर, हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ। अरूले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन। अहिले तेस्रोपटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहने छैन। डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ। यो लक्ष्यसहित हामी अघि बढेका छौँ।'

Laxmi sunrise bank
kumari

देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक–अधिकारका निम्ति इमानदारितापूर्वक लड्ने पार्टी माओवादी भएको उनले बताए। सबैको साथ रहेमा अर्कोपटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: Dec 23, 2023| 17:10 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्